२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन युवा संघको माग

२ मंसिर, खोटाङ । राष्ट्रिय युवा संघ, नेपाल खोटाङले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र पठाउँदै राष्ट्रिय युवा संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले देशका सबै क्षेत्रमा महँगी बढ्न जाँदा सेवाग्राही र नेपाली जनता प्रत्यक्ष मारमा परेको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेको हो ।

राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष रसकुमार राईले प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई बुझाएको ज्ञापनपत्रमा पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास, हवाई इन्धन जस्ता पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले नेपाली जनताको आधारभूत आवश्यकताप्रति परमादेश सरकार गैरजिम्मेवार बनेको तथ्य प्रमाणित भएको उल्लेख छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा पनि बढाउने तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा नघटाई सधैँ घाटा देखाएर भ्रष्टाचार गर्ने उद्देश्यले वर्तमान सरकारले पटक पटक मूल्य वृद्धि गरेको भन्दै संघले भर्त्सना गरेको छ । आफ्नो माग पूरा नभए परमादेश सरकारको स्वेच्छाचारी कदमविरुद्ध जस्तोसुकै कदम चाल्न बाध्य हुने राष्ट्रिय युवा संघका अध्यक्ष राईले चेतावनी दिए ।

गठबन्धन सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा २४ कात्तिकमा पेट्रोल, डिजेल र मट्टीतेलमा तीन रुपैयाँ, हवाई इन्धनमा पाँच रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्य वृद्धि गरेको थियो । गत २८ कात्तिकमा ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियु खोटाङले पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेको थियो ।

प्रकाशित मिति : November 18, 2021 at 6:31 pm