२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सरिसल्ला–सर्केगाडको भाडादर निर्धारण

३० कात्तिक, सिमकोट । हुम्लाको सर्केगाड गाउँपालि र सरिसल्लाबाट सञ्चालन हुँदै आएका जिपको भाडादर निर्धारण गरिएको छ । जिप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि भाडादर निर्धारण गरिएको सर्केगाड गाउँपालिका उपाध्यक्ष जोशी धामीले बताए ।

कोल्टी सरिसल्ला सडकमा सञ्चालन हुने जिपले यात्रुबाट चर्को र मनपरी भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जिप व्यवसायीसँग छलफल गरेर भाडादर निर्धारण गरिएको उपाध्यक्ष धामीले बताए ।

यातायात व्यवसायी, चंखेली गाउँपालिका, सर्केगाड गाउँपालिकाका स्थानीय बासी र अन्य सरोकारवालासँगका बैठक बसी भाडामा निर्धारण गरेको उपाध्यक्ष जोशीले जानकारी दिए ।

सर्केगाड गाउँपालिकाका उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले सर्केगाड–सरिसल्ला र सरिसल्ला बाट बाख्रे, नेरघाट, खच्चा, बालुकुना, मकै, गल्फागाड, पुइम, कवाडी, धुलाचैर, पिलुचौर र कोल्टी सम्मको भाडा निर्धारण गरेको हो ।

मंगलबारदेखि लागू हुनेगरेर सर्केगाड दुल्ली ५०, सर्केगाड–सरिसल्ला ३०० र सरिसल्लाबाट बाख्रे ५०, नेरघाट १००, खच्चा १५०, बालुकुना २००, मकै ३००, गल्फागाड ४००, पुइम ६००, कवाडी ६५०, धुलाचैर १०००, पिलुचैर १२०० र कोल्टी १४०० का दरले भाडा निर्धारण भएको छ ।

यससँगै सरिसल्लामा शाखा कार्यालय रहने गरी स्वामिकार्तिक बुढीगंगा यातायात समितिले समेतले गाउँपालिकाबाट अनुमति लिएको यातायात समितिका अध्यक्ष बलि रावतले बताए ।

भाडा कार्यान्वयन र सुरक्षित यात्राका लागि इलाका प्रशासन, प्रहरी चौकी र गाउँपालिकाले अनुगमन गर्ने र तोकिएभन्दा बढी भाडा लिएको पाइएमा व्यापारीलाई समेत कानुनी कारबाही गरिने उपाध्यक्ष धामीले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार १९:५६