२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

उद्योग क्षेत्रमा देखापरेको समस्या समाधान गर्न वर्तमान सरकार तत्पर छः गृहमन्त्री खाँण

२३ कात्तिक, काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाई दिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

मंगलवार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

उनले उद्योग क्षेत्रमा राष्ट्रव्यापी रुपमा समस्याहरु देखापरेको र ति समस्याहरुलाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताए । उनले माल, समान ल्याउने क्रममा व्यापारीहरुलाई अनावश्यक रुपमा दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरुलाई आग्रह गरे । मन्त्री खाँणले भाषा, संस्कृतिको विकासको लागि समेत सरकार गम्भीर रहेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको पनि बताए ।

उनले भने ‘वर्तमान सरकार सबै समुदायलाई सम्मान गर्दछ । र उद्योगी, व्यवसायीहरुको स्वतन्त्र उद्योग, व्यवसाय सञ्चालनका लागि जुन माग गर्नुभएको छ, त्यसमा सरकार सकारात्मक छ । र स्थानीय प्रशासनले, सुरक्षा निकायले उहाँहरुलाई उद्योग, व्यवसाय सञ्चालनमा अवरोध गर्ने होइनकी सहयोग गर्नुपर्दछ ।’

उनले राष्ट्रिय राजनीतिक मुलधारमा नआएका पार्टीहरुसँग सम्वाद र छलफलगरी राजनीतिक मुलधारमा ल्याउने काम भईरहेको उनले जानकारी दिए । गृहमन्त्री खाँणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलवार १४:२८