२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

२१ कात्तिक, काठमाडाैँ । मिथिलामा लोक आस्थाको महापर्व छठको तयारी शुरु भएको छ ।  मिथिलाको प्राचीन राजधानी रहेको जनकपुरधाममा छठ पर्वको तयारी शुरु भएको हो । जनकपुरको पोखरीहरुलाई अहिले सजाउने कार्यहरु धमाधम शुरु भएको छ भने जनकपुरको रामायणकालीन पोखरीहरु धनुष सागर, गंगा सागर, अंगराज सरोवरलगायतका पोखरीहरुमा भव्य रुपमा छठ पर्व हुने गरेको छ ।

 यसलाई अहिले विभिन्न पोखरीहरुमा रहेको छठ पूजा समिति तथा स्थानिय युवा क्लवहरुले सजाउन थालेका छन् । स्थानिय क्लवहरुले स्थानीय स्तरबाट सहयोग जुटाएर पोखरीहरुलाई सजाउने कार्यको अन्तिम तयारीमा लागेको पूजा व्यवस्थापक सुशील कर्णले बताए । उनले ग्रामीण क्षेत्रमा भएका पोखरी, नदी तथा सरोवरहरूको सरसफाई तथा सौन्दर्यकरणको काम शुरु भएको र गंगा सागर छठ पूजा समितिले गंगा सागरको छेउमा छठका लागि घाट निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको पनि जानकारी दिए ।

पोखरीको चारैतिरका डिलमा करिव चार हजारभन्दा बढी मानिस एकसाथ बसेर छठ पर्व मनाउने सक्ने बतउँदै उनले छठ पर्वमा रहेक जातजाती एकै ठाउँमा बसेर मनाउने भएकै कारण यसलाई लोक आस्थाको पर्व भनिएको बताए ।

निष्ठापूर्वक ४ दिनसम्म मनाइने छठ पर्व भोलि (सोमबार) ‘नहाय खाए’ विधिबाट शुरु गरिन्छ । छठ पर्व अत्यन्तै निष्ठापूर्वक मनाइने भएकोले यसलाई सबैभन्दा कठोर पर्वको रुपमा समेत लिने गरिएको छ । यस पर्वमा व्रतालुले पहिलो दिन ‘नहाय–खाए’ गर्छन् भने दोस्रो दिन खरना, तेस्रो दिन डुब्दै गरेको र चौंथो दिन उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिने प्रचलन छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आईतवार १३:२३