२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडामाथि कारबाही

१८ कात्तिक, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा कारबाहीमा परेका छन । उनीमाथि सूचना लुकाएको अभियोगमा राष्ट्रिय सूचना आयोगले कारबाही गरेको हो ।

खतिवडालाई १५ हजार रूपैयाँ जरिवाना समेत गरेको आयोगले जनाएको छ । झापा जिल्ला, बाह्रदशी गाउँपालिका–६, हाल काठमाडौँ निवासी बलबहादुर प्रधानले पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रमुख खतिवडा र सूचना अधिकारीसमक्ष आफूिकसँग सरोकार भएको सूचनाको माग गरेका थिए । तर उनीहरूले सूचना दिनुको साटो उल्टै लुकाएका थिए । त्यस उजुरीमाथिको छानविन गरी सूचना आयोगले खतिवडा माथि जरिबानाको कारबाही गरेको हो ।

सार्वजनिक निकाय पशुपति क्षेत्र विकास कोषका प्रमुख डा खतिवडाबाट नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा १ र २ ले प्रदान गरेको नेपाली नागरिकको सूचना माग्ने र पाउने हकको उलङ्घन गरेका कारण कारबाही गरिएको सूचना आयोगले जनाएको छ ।

खतिवडाको अर्को विवाद 

खतिवडा डा लेख्न मिल्ने अधिकारप्राप्त व्यक्ति होइनन् । तर उनी डा लेख्छन र लेख्न लगाउँछन । अरूले डा साप भनिदिँदा त गमक्क पर्छन । उनी कुनै विषयमा विद्यावारिधी गरेका व्यक्ति होइनन् । नत उनी भेटेनरी वा कुनै विषयका चिकित्सक नै हुन तर डा लेख्ने गरेका छन ।

कसैले सम्मान गरेको आधारमा विद्यावारिधी उल्लेख गर्न पाउने भए आज पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य समेतले नामका अघि डा लेख्ने थिए । तर उनीहरूले सम्मानको दुरूपयोग गर्न चाहेनन् । खतिवडालाई नजिकबाट चिनेका दोलखाका एक जना राजनीतिक पार्टीका नेता भन्छन, ‘उनले डा लेख्नेगरी केही अध्ययन गरेको थाहा छैन तर नामका अघि लेखेर हिडिरहेका हुन्छन । उनलाई लाज नभएपछि हामीलाई के को चासो ?’

उनले श्रीलंकामा गुरू दक्षिणा नामको नाटक देखाए वापत पाएको सम्मानको दुरूपयोग गरेको सोही टिममा सहभागी भएका एक जना कलाकारले बताए । खतिवडासहित अर्का एक अधिकारी थरका एक व्यक्तिले पनि सम्मान पाएका थिए तर उनले कहिल्यै उक्त सम्मानको नाममा दुरूपयोग गरेनन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार ११:५९