२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

प्रधानन्यायाधीशकाे राजीनामा माग गर्दै सर्वोच्चमा वकिलले कालोपट्टी बाँधेर गरे प्रदर्शन

१४ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

‘न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियान’, ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ भन्ने ब्यानरसहित नेपाल बारको नेतृत्वमा सर्वोच्च अदालत बार एसोसिएसन, विभिन्न कानुन व्यवसायी संघसंस्थाले संयुक्त रूपमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल बारले १७ कात्तिकसम्म प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन अल्टिमेटम दिएका छन् । यदि सो समयभित्र राजीनामा आए नआए थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।

तर, प्रधानन्यायाधीश जबराले कसैले सडकमा राजीनामा माग गर्दैमा आफूले नदिने अडान राखेका छन् । उनले महाअभियोग लगाउन चुनौतीसमेत दिएका छन् । प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गरेका छन् ।

प्रकाशित मिति : October 31, 2021 at 11:28 am