२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

आगामी मंसिर ३ देखि ५ गतेसम्म १८औँ हस्तकला व्यापार मेला आयोजना हुने

१२ कात्तिक, काठमाडौँ । नेपाल हस्तकला महासंघले विगत वर्षहरू जस्तै यस वर्ष पनि आगामी ३-५ मंसिरसम्म १८औँ हस्तकला व्यापार मेला तथा १६औं क्राफ्ट प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । महासंघले पत्रकार सम्मेलन गर्दै ३-५ मंसिरसम्म काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा हस्तकला व्यापार मेला तथा कला प्रदर्शनी गर्ने जानकारी दिएको हो।

कोरोना महामारीका कारण सिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा वाह्य बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको जनाएको छ । मेला उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने र मेला अवलोकनका लागि उच्च सरकारी अधिकारी, निर्यातकर्ताका साथै, नेपालस्थित विभिन्न मुलुकका राजदूतलाई पनि आमन्त्रण गरिएको मेला संयोजक रवीन्द्र शाक्यले जानकारी दिए ।

मेलामा हस्तकलालगायत विभिन्न वस्तुको करिब एक सय २० स्टल रहनेछन् । मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत नेचुरल फाइभर(प्राकृतिक रेसा) र फिलगिरी गरी दुई विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरी कला प्रतियोगितका संयोजक राजमान बज्राचार्यले बताए ।

त्यस्तै, मेलाकै अवसरमा ७० वर्ष नाघेका जेष्ठ कलाकार तथा हस्तकला वस्तु विदेशी बजारका निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई पनि सम्मान गर्ने कार्यक्रम छ । मेलालाई नेपाल सरकारका साथै अन्य सहयोगी संघ/संस्थाको पनि सहयोग रहेको छ ।

नेपाली हस्तकलालगायतका अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिकसम्बन्ध विकास, विदेशी हस्तकला आयातकर्ता/उपभोक्तालाई नेपालमा एक निश्चित मितिमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश प्रवाह गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेता तथा बिक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्न, हस्तकला र नेपाली संस्कृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई जनमानसमा उजागर गर्नु पनि मेलाको उद्देश्य छ ।

प्रकाशित मिति : October 29, 2021 at 12:03 pm