३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

वरिष्ठ अधिवक्ताहरूले मागे प्रधानन्यायाधिश जबराको राजीनामा

८ कात्तिक, काठमाडाैँ । वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन ।  वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतोले न्यायालयलाई यतिधेरै विवादमा तान्ने काम गरेको उल्लेख गर्दै प्रधानन्यायाशीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन ।

पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता श्रेष्ठले न्यायपालिकालाई जोगाउन र प्रधानन्यायाधिश जबरा आफैंको व्यक्तित्वलाई बढि क्षति हुन नदिन पनि तत्काल राजीनामा दिन उपयुक्त हुने तर्क गरे । उनले न्यायालयलई यतिधेरै विवादमा ल्याउने प्रधानन्यायाधिश जबरालाई पदमा बसिरहन नैतिकताले समेत नदिने तर्क गरे ।

उनले भने, ‘जरुरी के छ भने छिटोभन्दा छिटो उहाँले राजीनामा दिन जरुरी छ । अव उहाँ जति प्रधानन्यायाधिश भएर बस्नु भो, त्यति उहाँको व्यक्तित्वको क्षय हुन्छ । अहिले जति कुरा सतहमा आएको छ, त्यो भन्दा बढि कुरा आउँछ । उहाँको व्यक्तित्वको पनि थप क्षति हुन्छ । न्यायपालिकाको त क्षति भएकै छ । त्यसैले न्यायपालिकालाई जोगाउने हो भने उहाँको व्यक्तिको क्षति कम गराउने हो भने उहाँले २÷४ घण्टामा राजीनामा दिन जरुरी छ । यति राजीनामा दिनुभएन भने न्यायालयलाई यतिधेरै विवादित बनाएर पदमा बस्ने नैतिक अधिकारी उहाँलाई छैन ।’

अर्का वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानन्यायाधीश जबराले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरे । उनले न्यायालयमाथि देखिएको जोखिम टार्न पनि प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र उनको विकल्प खोजी गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘अहिले न्यायिक जगत जलिरहेको छ । निभाउने मान्छे अपांग भईसकेको छ ।

त्यसैले प्रधानन्यायाधीश नै प्रमुख व्यक्ति हो । उनले अहिले तुरुन्तै राजीनामा दिएर यो जो जोखिमलाई सुधार्नु पर्दछ । प्रधानन्यायाधीशले अहिले तुरुन्त राजीनामा दिनु र अनि नयाँ विकल्प तत्काल खोज्नुपर्ने हुन्छ ।’

न्यायालयमाथि अति गरेकाले प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आएको वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले बताए। उनले नेपालको इतिहासमै न्यायपालिकाले कार्यपालिकासँग समेत लेनदेनको काम काम गर्नु दुःखद भएको उल्लेख गर्दै त्यस कामको नेतृत्वकर्ताको हैसियतमा प्रधानन्यायाधिश जबराले मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

वरिष्ठ अधिवक्ता महतोले न्यायपालिकको अस्तित्वनै खतरामा पार्ने काम न्यायालय प्रमुखबाटै हुने काम भईरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

प्रकाशित मिति : October 25, 2021 at 5:53 pm