प्रादेशिक सञ्चार प्रतिष्ठानमा खड्का नियूक्त
५ कात्तिक, उदयपुर । प्रादेशिक सञ्चार प्रतिष्ठान १ नम्बर प्रदेशको सदस्यमा नेपाल पत्रकार महासंघ उदयपुर शाखाका भरतबहादुर खड्का नियुक्त भएका छन् । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री लिलावल्लभ अधिकारीले खड्कालाई चार बर्षका लागि नियुक्त गरेका हुन् ।
खड्कालाई प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ को नियम (६) को उपनियम (१) बमोजिम आन्तरिक मामिला तथा कानून मन्त्रीको अध्यक्षतामा रहेको सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको मन्त्रालयका शाखा अधिकृत विजयकुमार मगरले जानकारी दिए ।
प्रदेश सरकार फेरवदलसँगै मुख्यमन्त्री भिम आचार्यले उक्त मन्त्रालय आफैसँग राखेका छन् । मन्त्रीको कार्यभार सम्हाल्ने गरी मोरङ्गका प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई राज्यमन्त्री नियूक्त गरी मन्त्रालयका कामलाई अघि बढाएका छन् ।
मन्त्रीको हैसियतमा काम गर्ने जिम्वेवारी पाएपछि राज्यमन्त्री अधिकारीले गत असोज २५ गतेको राज्यमन्त्री स्तरीय निणर्यले नियमावलीको नियम ६(२) वमोजिम खड्कालाई चार बर्षका लागि नियुक्त गरेका हुन् । निर्णय सँगै दशै विदा परेकाले खड्काले बिहीबार मात्रै नियूक्ती पत्र बुझेका हुन् ।

उनलाई प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा, प्रदेश सांसद अम्बिका थापा, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विक्रम लुईटेल, प्रतिष्ठानका कर्मचारीले स्वागत गरेका थिए । समाजशास्त्रमा स्नातकोत्तर (एमए) गरेका खड्का कानुनका बिद्यार्थी पनि हुन् ।
दुई दशकदेखि सकृय पत्रकारिता गर्दै आएका खड्का नेपाल पत्रकार महासंघ उदयपुर शाखाको एक कार्यालय कुशलतापुर्वक पुरा गरी दोस्रो कार्याकालको जिम्वेवारी सम्हाल्दै आएका छन् । स्थानीय सञ्चार संस्थाबाट पत्रकारिता सुरुवात गरेका खड्का अहिले अन्नपूर्ण मिडिया नेटवर्कमा उदयपुरबाट आवद्ध रही काम गर्दै आएका छन् ।
सदस्य खड्कालाई स्वागत गर्दै कार्यकारी निर्देशक शर्माले नयाँ संरचनामा रहेको प्रतिष्ठनाले सञ्चारकर्मीको पेशागत दक्षता अभिवृद्धिसँग सम्बन्धित कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्दै आएको बताए । उनले प्रदेश भित्र कार्यरत पत्रकारको आर्थिक, सामाजिक, शैक्षिक तथा सांस्कृतिक विकास र उत्थानसँग सम्बन्धित कार्यक्रम तर्जुमा र कार्यान्वयन गरी पत्रकारको सर्वाङ्गिण विकास गर्ने लक्ष्य रहेको बताए ।
मन्त्री अध्यक्ष रहेको प्रतिष्ठानमा सम्बन्धित मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब, प्रदेश पत्रकार महासंघको अध्यक्ष, ३५ बर्ष उमेर पुरा भई स्नातक तह उर्तिण गरी कम्तिमा ५ बर्ष पत्रकारिताको अनुभव प्राप्त एक जना महिलासहित ८ जना सदस्य र कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी १३ सदस्य समिति रहने नियमावलीमा व्यवथा रहेको छ ।
प्रकाशित मिति : October 22, 2021 at 2:13 pm





