३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

बंगलादेशमा हिन्दु समुदायमाथि भएको आक्रमणविरुद्ध बागलुङमा प्रदर्शन

४ कात्तिक, बागलुङ । बंंगलादेशका हिन्दु समुदायमाथि भएको आक्रमणको विरुद्धमा बागलुङका हिन्दु धर्मसँग सम्बन्धित संघ संगठनले संयुक्त रुपमा विरोध गरेका छन् ।

विभिन्न १६ वटा धार्मिक संघ संगठनले उक्त घटनाको विरोध गर्दै तत्काल अल्पसंख्यको सुरक्षा गर्न माग गरेका हुन् । हिन्दुमाथिको आक्रमण नरोकिए नेपालमा त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिएका छन् ।

जिल्लामा क्रियाशिल हिन्दुधर्मसँग सम्बन्धित संगठनले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै बंगलादेशका हिन्दु समुदायको सुरक्षित रुपमा बाँच्न पाउने तथा आफ्नो धर्मसंस्कृति अवलम्बन गर्न पाउने अधिकार सुनिश्चित माग गरेका छन् ।

हिन्दु समुदायको सुरक्षा र मानव अधिकारको रक्षाको लागि नेपालका प्रधानमन्त्रीले सम्बन्धित देशसँग आवश्यक समन्वय गर्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ । वैदिक सनातन हिन्दु धर्ममा भएको सहिष्णुता तथा शान्तिप्रिय स्वभावलाई कमजोरी नठान्न उनीहरुले चेतावनी दिएका छन् ।

बंगलादेशमा हिन्दु समुदायविरुद्धको सांघातिक आक्रमणमा पाँच जना धर्मगुरुसहित पन्ध्र जना हिन्दुको हत्या गरिएको छ भने सयभन्दा बढी हिन्दुको घर जलाइएको र सयौ हिन्दु नारी बलात्कृत भएको घटना त्रासदीपूर्ण तथा आतातायी भएकोले घटनामा संलग्न अदिवादीलाई कडा कारवाहीको माग गरेको विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष हरि शर्माले बताए ।

हिन्दु समुदायविरुद्धको संघातिक आक्रमणबाट विश्वभरका हिन्दु सनातन धर्मावलम्बीहरु मर्माहत भएको नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ बागलुङका प्रमुख अच्युत दासले बताए । धार्मिक युद्ध निम्त्याउने गरी भएको आक्रमण रोकेर दोषीलाई कडा कारवाही नभए थप आन्दोलनका कार्यक्रम घोषण गर्ने उनले बताए ।

हिन्दु समुदायमाथि भइरहेको आक्रमण र मठमन्दिरमा भएको तोडफोड तथा आगजनी नियन्त्रणमा नलिए त्यसको परिमाण राम्रो नहुने स्वामी ऋषि प्रपान्चार्यले चेतावनी दिए । संख्याको आधारमा कसैले कुनै समुदायमाथि अत्याचार गरे त्यसले ठूलो रुप लिन सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : October 21, 2021 at 5:20 pm