५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

भारतविरुद्ध मनोबल उच्च नहुँदा हार्‍याैँः पूर्व खेलाडी हरि खड्का


-रमेश सुवेदी

४ कात्तिक, काठमाडौँ । चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग फाइनल खेलमा पराजित हुँदा नेपालले २८ वर्षपछि साफ च्याम्पियनसिपमा फाइनल पुगेर पनि उपाधि जित्नबाट बञ्चित भयो । सन् १९९३ देखि सुरु भएको दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साफ) मा नेपाल पहिलो पटक फाइनल पुगेको थियो ।

माल्दिभ्सको मालेमा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले सुरुवाती दुई खेलमा माल्दिभ्स र श्रीलंकाविरुद्ध शत प्रतिशत जित निकाल्दा तेस्रो खेलमा भारतसँग नसोचिएको प्रदर्शनसहित हार ब्यहोरो । अन्तिम खेलमा बंगलादेशसँग १–० ले पछि परेको स्थितिमा पेनाल्टी गोल गर्दै बराबरीसहित पहिलो पटक नेपाल साफमा ऐतिहासिक रूपमा फाइनल प्रवेश गर्‍याे ।

यद्यपि पुनः नेपालले फाइनल खेलमा भारतविरुद्ध विर्सनलायक प्रदर्शन गर्‍याे र पराजित भयो । नेपाल फाइनल पुगेको कुरासँगै नेपाली टोलीका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको मैदान बाहिर र भित्रका क्रियाकलापले समेत खुबै प्रशंसा पायो । साथै केही कुरा विवादास्पद पनि रह्यो । भारतविरुद्ध प्रि म्याच पत्रकार सम्मेलनमा उनले भनेका ‘भारत ९५ प्रतिशत जित्न सक्छ, ४ प्रतिशत बराबर हुँदा नेपालले १ प्रतिशत जित्ने सम्भावना’ शब्द निकै विवादास्पद पनि रह्यो ।

यसैलाई समर्थकले भने सकारात्मक लिँदै प्रशिक्षकको रणनीति भने । नेपालको साफ च्याम्पियनसिपको यात्रा, नेपालको रणनीति, नेपाल साफमा कहाँ चुक्यो ? प्रशिक्षक अब्दुल्लाहका विवादास्पद अभिव्यक्तिलगायत प्रसङ्गमा हरि खड्काले गरेकाे समीक्षा

हामीले सुरुवाती खेलमा माल्दिभ्सलाई जित्यौँ । माल्दिभ्सले हामीलाई दबाब दिएको थियो । तर, त्यसका बाबजुद हामीले गोल निकाल्यौँ । काउण्टर खेलमा हाम्रो रणनीति सफल भयो । त्यसपछि श्रीलंकालाई जित्यौँ । त्यसपछि बंगलादेशलाई भाग्यले साथ पनि दियो र अन्तिम समय बराबरी खेल्यौँ ।

भारतसँग किन हार्‍याे भन्ने कुरा आयो ?

भारतसँग खेल्दा जहिले पनि मनोबल र ‘स्टाटस’ कुरा आउँछ । त्यो खेलमा हामीले सुरुमै ९९ प्रतिशत हारेको भान गरिसकेका थियौं । त्यो कुरा प्रशिक्षकबाट आउन नहुने थियो । हामीले खेल अघि नै ९९ प्रतिशत आत्मसमर्पण गरेको कुरा प्रशिक्षकबाट आउन नपर्ने कुरा थियो ।

टेक्निकल रूपमा हामी पूरा समय उनीहरूसँग दबाबमा खेल्यौँ । हामीले घरेलु मैदानमा भारतसँग जुन मैत्रीपूर्ण खेलमा आक्रामक सोचका साथ खेलेका थियौंँ। त्यो मैले पाइनँ । अर्काे कुरा प्रशिक्षकको रणनीति पनि हुन सक्छ । ‘पोसेसन बाई’ खेलाडीलाई प्रयोग गरेको देखिन । सुजलको कुरा गर्दा कहिले लेफ्ट ब्याक, कहिले लेफ्ट विंगर खेलाएको थियो । फेरि त्यो दिन राईटमा खेलायो ।

टेक्निकल रूपमा हाम्रो मुख्य हतियार अन्जन बिष्ट बाहिर (दुई पहेंलो कार्ड) भयो । त्यसले पनि हामीलाई गाह्रो बनायो । मैले देख्दा भारत हामीभन्दा माथि छ । ‘सुपर’ छ । फाइनल पुग्नु नै हाम्रो लागि ऐतिहासिक सफलता हासिल हो ।

जहाँ पनि मनोबलको कुरा आउँछ । ५० प्रतिशत युद्ध जहिले पनि मनोबलकै कारण जितिन्छ । त्यो खेलमा एक त पानी पनि पर्‍याे । पानीले हामीलाई अलिकति साथ दिन्छ कि भन्ने पनि भएको थियो । तर, भएन । पहिलो हाफ त हामीले रोकेको पनि हो । राम्रो खेलेको त भन्न मिल्दैन । तर, रोकेको हो । दोस्रो हाफमा हाम्रो रणनीति मैले केही पनि देखिन । त्यहाँ उनीहरूको (भारत) रणनीति सफल जस्तो लाग्छ ।

भारतविरुद्धको पहिलो खेलको समीक्षा

हामी जहिले पनि आफूभन्दा राम्रा टोलीसँग खेल्दा काउण्टरमा खेल्छौँ । हामी पूरा दबाबमै खेल्छौँ । काउण्टरमा जाँदै गएनौँ । माल्दिभ्ससँगको जुन गोल थियो । त्यो त काउण्टरमै भएको थियो । श्रीलंकासँगको कुरा गर्दा पनि गोल काउण्टरमै भए । त्यो रणनीति सफल भयो । तर, खेलमा केटाहरू (खेलाडी) को मनोबल नै, प्रशिक्षकको ‘स्टाटस’ ले होस् या रणनीतिले हो, रोकौ भनेर पूरा डिफेन्सिभ खेलेको जस्तो लाग्यो । अलिकति अट्याकिङ फुटबल नै खेलेको भए हुन्थ्यो ।

माल्दिभ्स र श्रीलंकाविरुद्धको नतिजा

यो पटक हामी भाग्यमानी पनि भयौँ । माल्दिभ्स राम्रो टिम थियो । बंगलादेश र श्रीलंका पनि राम्रो थियो । यो पाँचै टिम ‘ब्यालेन्स’ का थिए । सबैले सबैलाई जित्न सक्ने । भारत अलिकति बलियो देखिएको थियो । यता, माल्दिभ्स पनि बलियो थियो । ऊ प्रतियोगिताबाट बाहिरियो ।

प्रशिक्षकका अभिव्यक्ति

त्यो मनोबल बढ्दै जाँदा पनि हामीले जब भारतसँग डिफेन्सिभ खेल्यौँ । हामीले भोलि कुन रणनीति खेल्ने । कस्तो खेल्ने । त्यो त खेल अघिको ‘ब्रिफिङ’ मै हुन्छ । कोचले प्रि म्याचमा बोल्ने सबै त्यही हो । बोल्दै गर्दा कसरी बोले कि हामी भारतसँग तलै छौं भनेर बोलेपछि खेलाडीमा पनि त्यस्तो केही भयो कि भन्ने लाग्छ ।

अर्काे कुरा फाइनलअघि राजीनामाका कुरा आए । त्यो राम्रो देखिएन । प्रशिक्षकले १ प्रतिशत मात्रै जित्छ भन्ने कुरा दुवै पाटोमा सोच्न सकिन्छ । रणनीतिमा उनीहरूलाई पछि पारेर हामी गर्न सक्छौँ भनेर पनि सोच्न सकिन्छ । तर, राष्ट्रिय कोच भएपछि त्यस्तो ‘स्टाटस’ मैले सुनेको छैन । पहिलो पटक यस्तो सुनेको हो । विपक्षी नै यति प्रतिशत माथि छ भनेर हामीले बताउने हैन । हाम्रो रणनीति बताउने हो जस्तो मलाई लाग्छ ।

राजीनामा प्रकरणका कारण पनि खेलाडीको मनोबल घट्न पुगेकाे हुन सक्छ, खेलाडीलाई मनोबल उच्च गराउने कुरामा । अरु कुरामा खेलाडी खुसी थिएन नि त । उसको (अब्दुल्लाह) राजीनामा कुरा आउँदा, खेलाडीमा स्वतः मनोबलमा असर गर्छ । भोलिको खेलमा के गर्ने, जाने नजाने भन्ने कुरा मनभित्र त परिहाल्छ नि । जो कोचलाई खेलाडी माया गर्छन्, त्यो त परि नै हाल्छ ।

२८ वर्षको फाइनल नतिजा

पहिलो पटक फाइनल पुग्यो । त्यो नतिजालाई राम्रो मान्नुपर्छ । माल्दिभ्स जस्तो देशलाई उसैको घरमा पराजित गर्‍याैँ । त्यो राम्रो मान्नुपर्छ । फाइनल पुग्नु नै अहिलेको अवस्थामा राम्रो मान्नुपर्छ ।

(खड्का नेपाली पुरुष टोलीका सर्वाधिक (१३) गोलकर्ता समेत हुन् । पूर्व राष्ट्रिय खेलाडी खड्का एएफसी ए लाईसेन्स प्राप्त प्रशिक्षक हुन् । उनले पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप र १३ औं दक्षिण एसियाली खेलुकद (साग) प्रतियोगिता सहित हिरो गोल्डकप, नाझेद्दा कप र ओलम्पिक छनोटको दोस्रो चरणमा महिला टोलीको मुख्य प्रशिक्षकमा रहेर काम गरेका थिए । हाल उनि महिला फुटबल विभाग प्रमुख हुन् । )

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार १५:३७