३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

प्रधानन्यायाधीश राणाले देउवालाई प्रधानमन्त्री नियुक्त गरेवापत फेरि राजदूतको कोटा मागे

२५ असोज, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले फेरि राजदूत नियुक्तिमा भाग मागेका छन । यसअघि दुई जना मन्त्रीको कोटा मागेका राणाले एक जना मन्त्री पाएका थिए ।

जसमा आफ्ना जेठान गजेन्द्र हमाललाई नियुक्ति दिलाएका थिए । यद्यपी हमाल मन्त्रीमा एक साता टिक्दा नै राणाको पद धरापमा पर्ने भएपछि उनैले राजिनामा दिन लगाएका छन । फेरि राणाले राजदूतमा कोटा मागेको खबर बाहिरिएको छ । सोमबारको नागरिक दैनिकमा टपेन्द्र कार्कीले प्रधानन्यायाधीश राणाले राजदूत नियुक्तिमा पनि भाग खोजेको समाचार लेखेका छन ।

राणाले आफ्ना सम्धी डा। तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन ।  ‘उहाँले मन्त्रीमात्र होइन, राजदूतमा पनि भाग खोजिरहनुभएको छ। डा। तिलक रावललाई राजदूत बनाउनुपर्ने उहाँको प्रस्ताव छ’, बालुवाटार निकट स्रोतले भन्यो। पूर्वगभर्नर रावल मधेसवादी दलका तर्फबाट संविधानसभा सदस्य बनेका थिए।

केपी ओली नेतृत्वको सरकारका पालामा संवैधानिक निकायमा आफ्ना मान्छे राख्न दबाब दिएका प्रधानन्यायाधीश राणाले अहिले पनि त्यही शैलीमा दबाब बढाएका हुन्।

 

प्रकाशित मिति : October 11, 2021 at 9:36 am