२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बालकृष्ण खाँडको बहादुरी ! आफ्नै गृह जिल्लामा ४ सुकम्बासीको गोली हानी हत्या

२४ असोज, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडको गृह जिल्ला रूपन्देहीमा आइतबार चार जना सुकुम्वासीको गोली हानी हत्या भएको छ । सुकुम्वासीप्रति यसैपनि अनुदार रहेको कांग्रेस नेतृत्वको सरकारले सुकुम्वासीलाई गोली हानी हत्या गरेपछि सरकारमाथि हत्याराको आरोप लागेको छ ।

रुपन्देहीको वटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी माथि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर अन्य केही सर्वसाधरण घाइते भएका छन । सरकारको नेतृत्वमा पुग्नेवित्तिकै भूमि समस्या समाधान आयोग समेत विघटन गरेको देउवा सरकारले सुकुम्वासी माथि नै गोली चलाएपछि शंकाको दृष्टिले हेरिएको छ ।

शनिबार मात्र सत्तारूढ पार्टी नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्डले सुकुम्वासीलाई चुनाव अघि जग्गा बितरण गर्ने बताएका थिए । तर प्रचण्डको उक्त घोषणाको २४ घण्टा पनि नबिल्दै उनकै समर्थनको सरकारले सुकुम्वासीको गोली हानेर हत्या गरेको छ ।

सरकारले जग्गा कब्जा गर्ने समूह भने पनि ती सुकुम्वासी नै रहेको स्थानीयले बताएका छन । स्थानीय जमिनदारहरूको समर्थन र मत बटुल्नका लागि कांग्रेसले यस्तो हर्कत गरेको हुन सक्ने अनुमान पनि गरिएको छ । गोली लागि मृत्यु भएका एक जनाको मात्र सनाखत भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का करिब ४८ वर्षीय रमेश परियार रहेका छन् । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । अन्य ३ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृत्यु भएकाहरु सर्वसाधारण हुन् । अस्पतालमा अन्य ५ प्रहरी र ४ सर्वसाधारणको उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरूसमेत भत्काएको छ । नागरिकले जग्गा कब्जा नै गर्न खोजेपनि बिधि पुर्याएर तीनको व्यवस्थापन गर्न सकिन्थ्यो तर गृह मन्त्रीकै गृह जिल्ला भएकाले प्रहरीले आदेश लिएर सुकुम्वासी माथि गोली चलाउनु नरसंहार निम्त्याउने प्रयास हो । प्रदर्शन र आन्दोलन नियन्त्रण गर्ने राज्यको काम हो । यद्यपी नियन्त्रण कसरी गर्ने भन्ने पनि बिधि छ । नागरिक माथि सीधै गोली चलाउनु गलत छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार २३:०५