२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

तीन महिनादेखि अवरुद्ध रसुवागढी नाका जोड्ने छोटो दुरीको सडक सञ्चालनमा

२३ असोज, रसुवा । तीन महिनादेखि अवरुद्ध रहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दुरीको मैलुङ स्याफ्रुवेँशी सडक सञ्चालनमा आएको छ । वर्षाका कारण तीन महिनादेखि अवरुद्ध नाका जोड्ने छोटो दुरीको सडक शनिबारबाट सञ्चालनमा आएको हो ।

वर्षायाम कम भएसँगै १५ दिनको प्रयासपछि नाका जोड्ने छोटो दुरीको मैलुङ स्याफ्रुवेँशी सडक शनिबारदेखि पूर्ण रुपमा संचालनमा आएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेँशी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

‘वर्षाले विभिन्न स्थानमा पहिरो गई बाटो अवरुद्ध भएको थियो, केही स्थानमा ब्लाष्टिङ पनि गर्नुपर्‍यो,’ उनले भने, ‘अवरुद्ध सडक मर्मतको काम सुरु गरेको १५ दिनपछि पूर्ण रुपमा सञ्चालनमा ल्याउन सफल भयौं ।’

सडक सञ्चालनमा आएसँगै साना तथा ठूला सवारीले मैलुङ–स्याफ्रुवेँशी सडकको बाटो प्रयोग गरेका छन् । बाटो अवरुद्ध हुँदा सवारी साधनले बेत्रावती कालिकास्था धुन्चे स्याफ्रुबेशी सडक बाटो प्रयोग गरेका थिए ।

राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुवेँशी सडक खण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडक खण्डको लम्बाइ १७ किलोमिटर रहेको छ । नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुवेँशी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्नपर्दैन ।

यस्तै, स्याफ्रुबाट धुन्चे, कालिकास्थान हुँदै बेत्रावती पुग्ने सडकभन्दा स्याफ्रुबाट मैलुङ हुदै बेत्रावती निस्कन पेट्रोलियम पदार्थको खपत कम हुने र छिट्टै गन्तव्यमा पुगिने हुँदा कन्टेनर चालकहरुले यो सडकबाट ढुवानी बढाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार २१:१८