२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एउटै मञ्चमा किसान श्रेष्ठसँग रामकुमारीको असहमति, बर्साइन् प्रश्नै प्रश्न

२३ असोज, तनहुँ । न्यायोचित वितरणको प्रणालीलाई अंगाल्न नसक्दा केपी ओली नेतृत्वको सरकार ढलेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताएकी छन् । तनहुँमा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाक्रीले हरेक नागरिकलाई मेरो राज्य भन्ने अनुभूति गराउनुपर्ने बताइन् ।

शुक्रबार मात्रै शपथ ग्रहण गरेकी उनले भनिन्, ‘हरेक नागरिकलाई मेरो राज्य मेरो सरकार भन्ने प्रत्याभूति गराउने कर्तव्य राजनीतिको हो । त्यसमा हामी दत्तचित्त भएर लाग्छौँ ।’

शक्तिको पछाडि विकास नदौडने उनको प्रस्टोक्ति छ । आफ्नै पार्टीका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठको ‘तनहुँमा विकासको लहर ल्याउने’ उद्घोषमा असहमति जनाउँदै भनिन्, ‘तनहुँले मन्त्री पायो विकास यहीँ मात्र दौड्ने, हुम्लाले के गर्ने? गुल्मीले मन्त्री पायो विकास त्यहाँ हुने, पर्वतले के गर्ने? म सामाजिक न्यायको कुरा गर्छु । जहिलेदेखि राजनीतिलाई बदल्नुपर्छ भन्ने बुझे त्यहीँ बेलादेखि म न्यायोचित वितरण प्रणालीको पक्षमा छु ।’

यसअगाडिको दुई तिहाईको सरकारले वितरण प्रणालीमा न्यायोचित वितरण नगरी अन्यायपूर्ण व्यवहार गरेकाले विद्रोह गरेर नयाँ पार्टी खोलेको मन्त्री झाँक्रीले स्पष्ट पारिन् ।

अनुभवका हिसाबले आफू नयाँ भए पनि अन्धाधुन्ध काम नगर्ने उनको जिकिर छ । उनले भनिन्, ‘राजनीतिले कसरी गति लिन्छ, कहाँबाट प्रवेश गरेर कहाँबाट निस्कन सकिन्छ भन्ने कुरा हामीलाई थाहा छ । हामीले केही न केही गरेर जानेछौं ।’ उनले सरकारमै रहे पनि भ्रष्टचार, कुशासन, गैरजिम्मेवारपन र तानाशाही प्रवृत्तिविरुद्ध लड्ने दाबी गरिन् ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार २०:१०