५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अनेरास्ववियूको प्रश्नः सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरामा किन गणक पठाएन ?

२२ असोज, काठमाडाैँ । अनेरास्ववियुले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक तथा गणक पठाउन माग गरेको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ती ठाउँमा सुपरिवेक्षक र गणक पठाई जनगणना कार्य तत्काल अगाडि बढाउन माग गरेकी हुन् ।

‘पूर्ववर्ती सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपालको नक्सामा समेट्ने जस्तो महत्त्वपूर्ण कार्य गर्दा पनि वर्तमान सरकारले उक्त नेपाली भूमिमा गणक पठाउन नसकेकोप्रति हाम्रो असहमति रहेको छ,’ उनले भनेकी छन्, ‘सरकारले उक्त क्षेत्रको जनगणनाका विषयमा गाम्भिर्यता नदेखाउँदा सरकारको नियतमाथि नै प्रश्न उठेको छ ।’

यस्तै अखिलले दशैँ, तिहार र छठ जस्ता ठूला पर्वको सम्मुखमा बजारमा कालो बजारी बढिरहेकोले तत्काल संयन्त्र बनाई कालोबजारी गर्नेलाई कडा भन्दा कडा कारबाहीको माग गरिएको छ ।

यस्तै सार्वजनिक यातायातमा भर्खरै सरकारले ३५ प्रतिशतले भाडा वृद्धि गरेकोले तत्काल वृद्धि गरिएको भाडा फिर्ता लिनसमेत उनले माग गरेकी छन् ।

सार्वजनिक यातायातमा विद्यार्थीलाई प्रदान गरिएको ४५ प्रतिशत छुटपूर्ण कार्यान्वयन गर्न र अन्य यात्रुलाई सहज ढंगले टिकट उपलब्ध गराउने विषयमा प्रभावकारी अनुगमन गर्नसमेत विज्ञप्तिमा उनले माग गरेकी छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार ०९:४३