३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

जसपाले टुंग्यायो मन्त्रीको नाम, बाबुराम भट्टराईको कोटामा राजेन्द्र श्रेष्ठ मन्त्री बन्दै

२२ असोज, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री नराख्ने भएपछि अध्यक्ष उपेन्द्र यादव भने सरकारमा नजाने भएका छन् ।

यादव नजाने भएसँगै जसपाका नेताहरूबीच मन्त्रिमण्डलमा पठाउने मन्त्रीहरूको नाममा अनौपचारिक सहमति भएको जसपाका एक नेताले बताए। जसपाले पाउने चार मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद साहको टुंगो लागेको ति नेताले जानकारी दिए ।

मन्त्रीहरूको नाम टुंगो लगाएर जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई आजै गृहजिल्ला गोरखा गएका छन् । ‘मन्त्रीहरूको नाम टुंगो लगाएर भट्टराई आजै गोरखा गइसक्नुभएको छ’ ति नेताले भने, ‘उनीहरूले पाउने मन्त्रालयको भने टुंगो लागेको छैन ।’

जसपा कार्यकारिणी समितिको बैठकले मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो । प्रधानमन्त्री देउवाले आजै ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र ४ बजे शपथ गराउने तयारी गरेका छन् ।

प्रकाशित मिति : October 8, 2021 at 8:57 am