३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

कालापानी क्षेत्रको नाभी, कुटी र गुन्जी गाउँमा जनगणना गर्न अनेरास्ववियूको माग

२० असोज, काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भारतद्वारा अतिक्रमित दार्चुलाको व्यास गाउँपालिका-१ स्थित कालापानी क्षेत्रमा जनगणना गर्न माग गरेको छ ।

नेकपा एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गरेर कालापानी, लिपुलेक वरीपरीको क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएको खबरप्रति ध्यानाकर्षण जनाउँदै तत्काल वैकल्पिक व्यवस्थाबाट जनगणना गर्न माग गरेका हुन् ।

 

विस २०१८ मा नाभी, कुटी र गुन्जीको जनगणना नेपाल सरकारले गरेको स्मरण गराउँदै कुटनीतिक पहल गरी सुपरीवेक्षक खटाउन माग गरिएको छ । जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकोले सरकारले तत्काल द्विपक्षीय कुटनीतिक वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्नेगरी नेपाली बस्ती र नेपाली नागरिकको सूचिकरण गर्न जनगणना सुपरीक्षक पठाउन परराष्ट्र मन्त्रालयसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । यी क्षेत्रमा जनगणना नगरिएमा अनेरास्ववियू संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ ।

प्रकाशित मिति : October 6, 2021 at 2:52 pm