२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

थप ९६८ काेराेना संक्रमित थपिए, १११४ संक्रमणमुक्त

१९ असोज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ९६८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा नौ सय ६८ जनामा संक्रमण पाइएको हो । योसँगै देशभर सक्रिय संक्रमित १६ हजार २४८ जना छ ।

पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला आठ र दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला १९ छन् । पछिल्लो २४ घन्टामा एक हजार ११४ जनाले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने संख्या सात लाख ७१ हजार तीन सय ३८ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ६ प्रतिशत छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ६ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार एक सय ८० जनाको निधन भइसकेको छ । हाल देशभर तीन सय ३५ जना सघन उपचार कक्ष (आइसीयू), एक सय २२ जना भेन्टिलेटर, १५ हजार एक सय १७ जना होम आइसोलेसन, एक हजार एक य ३१ जना संस्थागत आइसोलेसन र दुई सय ३७ जना क्वारिन्टिनमा छन् ।।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १७:१९