५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अख्तियारको छापापछि मुख्यमन्त्री राउतको राजीनामा माग

१८ असोज, जनकपुरधाम । अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेसँगै विभिन्न पार्टीहरूले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् ।

सोमबार बसेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको बैठकले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको छ । मुख्यमन्त्री कार्यालयले संचालन गरेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फाइल आफ्नो नियन्त्रण लिई अनुसन्धान गरिरहेकाले अनुसन्धान पूरा नभएसम्म मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने बैठकमा लोसपाका सांसद उपेन्द्र महतोले बताए ।

आर्थिक सुशासनको कुरा गर्ने प्रदेश सरकारले अख्तियारको टोलीले छापा मारेपछि त्यसको विरोध गर्नुको औचित्य नरहेको सांसद महतोको भनाइ थियो ।

त्यसैगरी डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै जनकपुरमा विरोध प्रदर्शन गरेको छ ।
‘साइकल चोर, सरकार छोड’लगायतका नारा लगाउँदै जनमतका कार्यकर्ताहरूले सोमबार नै विरोध प्रदर्शन गरेका हुन् । ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भएको अनियमितता ढाकछोप गर्न जनता समाजवादी पार्टीले अख्तियारको विरोध गरिरहेको जनमत पार्टीका नेताहरूले आरोप लगाएका छन् ।

१३ असोजमा महोत्तरीको बर्दिवासस्थित अख्तियारको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’अन्तर्गत खरिद गरिएका साइकलमा अनियमितता भएको आशंकामा छापा मारी फाइलहरू नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार १८:२८