२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमाले अध्यक्ष ओली एजेण्डाविहीन: रामकुमारी झाँक्री

१७ असोज, चितवन । नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीले सच्चा कम्युनिस्टहरूको मूल पार्टी नै नेकपा (एस) हुने बताएकी छन् ।

रत्ननगर नगर कमिटीले आइतबार आयोजना गरेको नगर कमिटी घोषणा कार्यक्रममा उनले नेकपा (एस) पार्टी इमान्दार कम्युनिस्टहरूको साझा पार्टी हुने दाबी गरेकी हुन् ।

आउने निर्वाचनबाट आफ्नो पार्टीले नयाँ उचाइ लिने भन्दै आफ्नो पार्टीमा गोलबद्ध हुन एमालेमा रहेका इमान्दार नेता, कार्यकर्तालाई अनुरोध पनि गरिन् । एमाले र योभन्दा बाहेकका अन्य पार्टीका कम्युनिस्टहरूलाई नेकपा (एस)मा आबद्ध हुन उनको अनुरोध छ ।

उनले सरकारमा रहँदा एमालेले भ्रष्टाचार गरेर कमाएको पैसा विधान सम्मेलनमा खर्च गरेको आरोप लगाएकी छन् । ‘निःशुल्क खोल्न मिल्ने ईमेल खोलेको रकम करोडौँ देखाएर भ्रष्टाचार गर्न खड्गप्रसाद ओली अग्रसर हुनुभयो’, उनले भनिन् । ओलीमा इमान्दारी, सुशासन भन्ने शब्द नभएको उनले बताइन् ।

ओली एजेण्डाविहीन भएको बताउँदै नेतृ झाँक्रीले आगामी चुनावमा बुर्का ओडेर ओलीलाई भोट माग्न आग्रह गरेकी छन् । माधव नेपालको साथ छाडेका नेताहरू छिटै फर्किने दाबी उनको छ । ‘अध्यक्षज्यूले धेरै केही नभन्नुहोस्, उहाँहरू फर्केर यहीँ आउनुपर्छ भन्नुभएको छ’, उनले भनिन्, ‘म धेरै बोल्दिनँ, फेरि एउटै मञ्चमा बोल्नुपर्ला, सँगसँगै हिँड्नुपर्ला ।’

प्रकाशित मिति : १७ आश्विन २०७८, आईतवार २०:२१