२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

भ्रष्टाचार ढाकछोपको माग गर्दै उपेन्द्र-बाबुरामका कार्यकर्ता मसालसहित अख्तियारविरूद्ध सडकमा

१६ असोज, सप्तरी । मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा उपेन्द्र यादव र डा बाबुराम भट्टराइ संयुक्त नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का युवाहरूले शनिबार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

जिल्लाका पार्टी निकट विद्यार्थी तथा युवाहरूले मसाल जुलुस प्रदर्शन गरेका हुन् । मसाल प्रदर्शन गर्ने क्रममा उनीहरूले ओलीको अख्तियार गुण्डा मुर्दावाद, मधेशविरोधी अख्तियार मुर्दावाद, संघीयता विरोधी अख्तियार मुर्दावाद, मधेश विरोधी अख्तियार प्रमुख राजीनामा देलगायतका नारा लगाएका थिए ।

सप्तरी सदरमुकाम राजविराजमा स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको मसाल जुलुस जनआन्दोलन चोकमा गएर टुंगिएको थियो ।

अख्तियारले छापा मारेपछि जसपाको प्रदेश समितिले जिल्लाहरूमा मसाल जुलुस प्रदर्शन गर्न आह्वान गरेको थियो । विरोधका कार्यक्रमअन्तर्गत आइतबार जिल्ला सदरमुकाम राजविराजलगायत सदरमुकाममा विरोध प्रदर्शन गरिने जसपाले जनाएको छ ।

प्रदेश २ सरकारले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा भ्रष्टाचार भएको भन्दै बुधबार अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मार्दै कागजात नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार २२:३७