२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

तीन महिनाभित्रै सिद्धबाबामा सुरुङ मार्ग निर्माण थालिने

१४ असोज, बुटवल । ‘मृत्युमार्ग’को रूपमा परिचित सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण कार्य यही वर्षभित्रै सुरु हुने भएको छ । चालू आर्थिक वर्षभित्रै सुरुङ मार्ग निर्माणको काम सुरु गर्नेगरी आयोजनाले तयारी अगाडि बढाएको हो । सुरुङ मार्ग निर्माणका लागि आह्वान गरिएको ग्लोबल टेण्डरमा नौवटा कम्पनीले आवेदन दिएका छन् ।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा. विजय जैसीका अनुसार आवेदन दिएका कम्पनीहरूसँग सुरुङ मार्ग निर्माणबारे छलफल भइरहेको छ । आवेदन दिनेमा अधिकांश चिनियाँ कम्पनी रहेका उनले जानकारी दिए । चाइना स्ट्रेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (बेइजिङ), चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (वुहान सिटी), चाइना फर्स्ट हाइवे इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (बेइजिङ) र संयुक्त उपक्रम (जेभी)लगायत कम्पनीले आवेदन दिएका छन् ।

चिनियाँ कम्पनी जेडआईसीजीले नेपाली शर्मा एण्ड कम्पनीसँग जेभी बनाएर आवेदन दिएको छ । एसीसीई चिनियाँ कम्पनीले नेपाली कम्पनी अनक कन्स्ट्रक्सनसँग जेभी बनाएर आवेदन दिएको छ, जसमा अनक कन्स्ट्रक्सन लिड कम्पनी रहेको छ । सिनो हाइड्रो कर्पोरेसन लिमिटेड/पावर चाइना नर्थ वेस्ट इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र पावर चाइना रोड ब्रिज ग्रुप कर्पोरेसन लिमिटेड (बेइजिङ)ले पनि आवेदन दिएका छन् ।

चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन/चाइना रेलवे १४औँ ब्युरो ग्रुप कम्पनी लिमिटेड र चाइना रेलवे सियुआन सर्भे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड (बेइजिङ)ले पनि तीनवटा चिनियाँ कम्पनी मिलेर आवेदन दिएका छन् । चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड/चाइना रेलवे २ नम्बर इन्जिनियरिङ ग्रुप कर्पोरेसन लिमिटेड (बेइजिङ)ले दुईवटा चिनियाँ कम्पनीको जेभी बनाएर आवेदन दिएका छन् ।

केएमसी/भीसीएपीएल जेभीले पनि आवेदन दिएको छ । केएमसी भारतीय कम्पनी हो भने भीसीपीएल (भ्याली कन्स्ट्रक्सन प्राइभेट लिमिटेड) नेपाली कम्पनी हो । ‘अबको तीन महिनामा कम्पनी छनोट हुनेछ, त्यसपछि काम सुरु हुन्छ’, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा. जैसीले भने । कम्पनी छनोट भएपछि नौ महिनाभित्र डिजाइन बनाएर काम सुरु गर्नुपर्ने शर्त राखिएको छ । सरकारले सुरुङ मार्गका लागि चालू आर्थिक वर्षमा ३० करोड रुपैयाँ छुट्याएको छ ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ५० करोड रुपैयाँ छुट्याएका भए पनि प्रतिस्थापन विधेयकमार्फत २० करोड रुपैयाँ अर्थमन्त्री जनार्दन शर्माले घटाएका छन् । चिडियाखोला आयोजना क्षेत्र रहे पनि सुरुङ मार्ग भने माथिल्लो सिद्धबाबाबाट सुरु हुनेछ । चिडिया खोलादेखि माथिल्लो सिद्धबाबासम्म ९०० मिटर सडकलाई दुई लेनमा स्तरोन्नति गरिनेछ भने सुरुङ मार्गको अर्को भागको ५०० मिटरलाई पनि दुई लेनमा स्तरोन्नति गरिने जैसीले बताए ।

सुरुङमार्गको दूरी भने एक हजार १२६ मिटर लामो हुनेछ । यसैगरी आयोजनामा सुरुङ मार्ग नपुग्ने स्थान अर्थात् ढुंगा झर्न नदिन रक फल प्रविधिको प्रयोग गरिनेछ । पाँच वर्षभित्र निर्माण गर्ने लक्ष्यअनुसार काम अगाडि बढेको जैसीले बताए । अर्थ मन्त्रालयले १० अर्ब १५ करोड रुपैयाँको सीमा दिएकाले त्यही सीमाभित्र रहेर ठेक्का दिनेसमेत जैसीले बताए । सरकारले स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन (एसडीसी)को आर्थिक र प्राविधिक सहयोगमा एक वर्ष लगाएर सुरुङ मार्गको वेसलाइन सर्भे गराएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १२:४१