२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

भाेलिबाट साफ च्याम्पियनसिप, नेपाली टाेलीकाे कतार भ्रमण र आशा


१४ असोज, काठमाडौँ ।  कोरोना भाइरस महामारीबीच एक वर्ष धकेलिएको दक्षिण एसियाली प्रतिष्ठित साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३औँ संस्करण माल्दिभ्समा भोलिबाट सुरु हुँदै छ । हरेक दुई वर्षमा हुने साफ च्याम्पियनसिप कोरोनाकै कारण धकेलियो ।

खासमा यस पटक साफ आयोजना गर्ने बंगलादेशले जिम्मा पाएको थियो । कोरोना र मुख्य प्रायोजन लिएर धेरै दबाब खेप्न नसकेको बंगलादेश फुटबल फेडेरेसनले आयोजनाबाट नाम फिर्ता लियो । यसपछि नेपाल र माल्दिभ्सले साफ आयोजनाको लागि प्रस्ताव गरे । दुवै टोलीलाई केही सर्त राखियो ।

त्यसमा माल्दिभ्स नेपालभन्दा बलियो देखियो र दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यसमिति बैठकले माल्दिभ्सलाई आयोजनाको स्वीकृति दियो । योसँगै १३औँ संस्करणको साफ १–१६ अक्टोबरसम्म माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुनेछ ।

यस पटक साफमा पाँच राष्ट्र मात्र सहभागी हुनेछन् । भुटानले कोरोना कारण सहभागी नहुने बताउँदा फिफाको प्रतिबन्धका कारण पाकिस्तानले सहभागिता जनाउने छैन । सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुने साफमा साविक विजेता माल्दिभ्स, साविक उपविजेता भारतसहित नेपाल, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । तालिकाको शीर्ष दुईमा रहने टोली दक्षिण एसियाली च्याम्पियन बन्नेछ ।

गत फागुनमा नेपालले मुख्य प्रशिक्षकमा कुवेती नागरिक अब्दुल्लाह अल्मुताईरीलाई भित्र्याउँदै साफको योजना र प्रशिक्षण सुरु गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अल्मुताईरीलाई आफ्नो मुख्यालयमा भित्र्याउँदै गर्दा उनले आफ्नो मूख्य लक्ष्य नेपाललाई साफको उपाधि दिलाउने बताएका थिए । उनले एन्फासँग सहयोग माग्दै खेलाडीलाई बढीभन्दा बढी अभ्यास दिन आग्रह गरे ।

त्यसयता, नेपाली टोली लगातार केही प्रतियोगिता, केही मैत्रीपूर्ण खेल, बन्द प्रशिक्षण र बन्द प्रशिक्षण क्रममा मैत्रीपूर्ण खेलमा रहेको छ । अब्दुल्लाहको आगमनसँगै नेपालले सात ठूला खेल खेलिसकेको छ । अब अब्दुल्लाहको प्रशिक्षणमा नेपालले खेल्ने साफ च्याम्पियनसिप सबैभन्दा महत्वपूर्ण प्रतियोगिता हो ।

हाल दक्षिण एसियाली फुटबलबाट माथि उठ्न नसकेको नेपाली टोलीको ‘टार्गेट’ नै साफ उपाधि रहने गर्दछ । नेपालले साफको १३औँ संस्करण आइपुग्दा हालसम्म उपाधि हात पार्न सकेको छैन । यति मात्रै हैन, नेपाल फाइनल नै पुग्न सकेको छैन । नेपाल सधैँ साफको उपाधि दाबेदारी रह्यो र उपाधिबिहीन पनि । यस क्रममा नेपालले १३ संस्करण नै खेलेको छ ।

त्यसैले मालेमा नेपाली टोलीको लक्ष्य मात्र उपाधि हुनेछ । यसबाट मूख्य प्रशिक्षक अब्दुल्लाहले कुनै बाहना पाउने छैनन् । सामाजिक सञ्जालमा आफ्ना शुभेच्छुकलाई पहिलो पटक साफ उपाधि जिताउने बनाउँदै गर्दा उनको वास्तविक परीक्षा शनिबार (पर्सी)बाट हुनेछ ।

मालेस्थित राष्ट्रिय रंगशालामा हुने साफ शुक्रबार (भोलि) उद्घाटन हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा शनिबार आयोजक माल्दिभ्सको सामना गर्दै एउटा मिसन सुरु गर्नेछ । खेल राति पौने १० बजे सुरु हुनेछ ।

कतार भ्रमण

नेपाललको लागि कुवेती प्रशिक्षक हुन् अब्दुल्लाह अल्मुताईरी । तर, उनले प्रो लाइसेन्स कतार फुटबल संघबाट पूरा गरेका हुन् । यता, साफ माल्दिभ्समा हुँदैछ । हाल माल्दिभ्समा तापक्रमसमेत उच्च छ । यसैले नेपाली प्रशिक्षक अब्दुल्लाहले माल्दिभ्सको हावापानीसँग मिल्ने गरी नेपाली टोलीको बन्द प्रशिक्षण कतारमै राखे । नेपाली टोलीले १६ दिन कतारमा प्रशिक्षण गरेर २७ सेप्टेम्बर मात्र माले प्रस्थान गरेको हो ।

यसअघि नेपाली टोलीले पोखरा र काठमाडौंमा तयारी गर्दै साफ अघि भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ पहिलो खेल बराबरीमा समाप्त भएको थियो भने दोस्रो खेल भारतले आफ्नो पक्षमा पारेको थियो ।

एन्फाले समेत नेपाली टोलीलाई यस पटक प्राथमिकतामा राख्दै कतार भ्रमणमा पठाएको हो । मूख्य प्रशिक्षक अब्दुल्लाहको चाहना अनुसार नै नेपालले कतार भ्रमण पायो । अब्दुल्लाहले आफ्नै पहलमा स्थानीय एक क्लब र ओमान राष्ट्रिय फुटबल टोलीसँग नेपाली टोलीलाई मैत्रीपूर्ण खेल दिलाए ।

एक प्रकारले भन्दा नेपाली टोली कतारमा अझै मजबुद बनेको छ । विदेशी भूमिमा विदेशी प्रशिक्षकको साथ नेपाली टोलीले पहिलो पटक उच्च मनोबलका साथ प्रशिक्षण पूरा गरेको छ । कतार भ्रमण ठ्याक्कै कस्तो रह्यो भनेर शनिबार खेलले नै बताउनेछ ।

साफ उपाधिको आशा

प्रशिक्षक अब्दुल्लाहले आफ्नो पहिलो र दोस्रो पत्रकार सम्मेलन तथा भारतसँग खेल्दै गर्दा आफ्नो मूख्य लक्ष्य साफ च्याम्पियनसिप नै रहेको बताएका थिए । नयाँ खेलाडीलाई प्राथमिकतामा राख्दै टोलीको रणनीतिसमेत नयाँ बनाई अब्दुल्लाहले साफको उपाधि आशा देखाएका हुन् । यति मात्र हैन पछिल्लो नेपालको रणनीति काउन्टरमा गएको र नेपाली टोलीमा ‘वान टिम वान गोल’ नारा दिलाउने उनै अब्दुल्लाह हुन् ।

अब्दुल्लाहबाट नेपाली टोलीले धेरै नै आशा गरेको छ । यति मात्र हैन पछिल्लो समयमा उनै अब्दुल्लाहले सामाजिक सञ्जालमा एक प्रकारको आफ्नो शुभेच्छुक जम्मा गरेका छन् ।

पछिल्लो समय केही विवादमा परेका अब्दुल्लाहलाई साफबाट आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती रहेको छ । अब्दुल्लाहले आफैँ कार्यरत संस्थाको वरिष्ट उपाध्यक्ष पंकज नेम्वाङको बदनाम गरेका छन् । यस्तै नेपालका पूर्वखेलाडीलाई आरोप लगाएका छन्, उपाधि जित्न नसकेको भनेर ।

यी तमाम विषयका बीच अब्दुल्लाहले उपाधि हात पार्न सके उनी नेपालका लागि सबैभन्दा उत्कृष्ट र सफल प्रशिक्षक गनिनेछन् । साफको १३औँ संस्करण शुक्रबारबाट सुरु हुँदै गर्दा सम्पूर्ण नेपालीको आशा छ । यो युवा टोली र प्रो लाइसेन्स प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीलाई पहिलो पटक उपाधि दिलाउनेछन् ।

अलमुताइरीको प्रशिक्षणमा नेपालको नतिजा

नेपाल २ – ६ इराक – मैत्रीपूर्ण खेल

नेपाल २ – ० चाइनिज ताइपेई – विश्वकप छनोट

नेपाल ० – ३ जोर्डन – विश्वकप छनोट

नेपाल ० – ३ अस्ट्रेलिया – विश्वकप छनोट

नेपाल १ – १ भारत – मैत्रीपूर्ण खेल

नेपाल १– २ भारत – मैत्रीपूर्ण खेल

नेपाल २– ७ ओमान – मैत्रीपूर्ण खेल (फिफा आधिकारिक्ता नपाएको)

साफमा नेपालको खेल– समय

नेपाल भर्सेस माल्दिभ्स – असोज १६ गते – राति ९ः४५ बजे

नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९ः४५ बजे

नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९ः४५ बजे

नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४ः४५ बजे

नेपाली टिम

गोलकिपर – किरणकुमार चेम्जोङ (कप्तान), विशाल श्रेष्ठ, दीप कार्की

डिफेन्डर – दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द

मिडफिल्डर – तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा, विशाल राई, सुनील बल, सुरज जिउ ठकुरी, नितिन थापा, पुजन उपरकोटी

स्ट्राइकर – नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आशिष लामा

माल्दिभ्सविरुद्ध नेपालको सम्भावित प्लेइङ सेट

गोलरक्षक – किरणकुमार चेम्जोङ

डिफेण्डर – दिनेश राजवंशी, अनन्त तामाङ, रोहित चन्द, गौतम श्रेष्ठ,

मिडफिल्डर – तेज तामाङ, आयुष घलान, सुजल श्रेष्ठ

स्ट्राइकर – सुमन लामा, मनिष डांगी, नवयुग श्रेष्ठ

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १६:३०