२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कांग्रेस ताप्लेजुङ सभापतिमा गजेन्द्र र छविलालबीच प्रतिस्पर्धा हुने

-दिलकुमार लिम्बू

१३ असोज, ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङ सभापतिका लागि संस्थापन पक्ष गजेन्द्र तुम्याहाङ र संस्थापनइतरबाट छविरमण गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ । तुम्याङ र गुरुङले आगामी जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।

गत साता स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको छ । जिल्ला कार्यसमिति र प्रदेश सभा अधिवेशनको तयारी हुँदैछ । वडादेखि नै संस्थापन र संस्थापन इतर पक्षबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने भएको छ ।

बुधबार तुम्याहाङले जिल्ला सभापतिमा उम्मेदवार घोषणा गरेका छन् । उनी सभापति शेरबहादुर देउवा पक्षका हुन् । संस्थापन इतर समूहबाट मंगलबार साँझ पत्रकार सम्मेलन गरी छविरमण गुरुङले उम्मेदवारी घोषणा गरेका थिए ।

संस्थापन समूहले उपसभापतिमा डिल्लीरमण बराल र रवीन्द्रकुमार वनेम, सचिवमा डम्बर हाङनाम र नन्दकुमार ओझा तथा सहसचिवमा जंग सुनुवार र नन्दकुमार आङ्बुहाङ उम्मेदवार बन्ने भएका छन् ।

संस्थापन इतर समूहले उपसभापतिमा गणेशबहादुर चोङ्वाङ र चन्द्रमान खोयाहाङ, सचिवमा चक्र भट्टराई र मातृकाप्रसाद शेर्पालाई उम्मेदवार बनाउने भएको छ ।

संस्थापन पक्षले प्रदेश निर्वाचन १ (क) मा बमप्रसाद गौतमलाई सभापति, गणेश मगर र दीपेश मेन्याङ्वोलाई उपसभापति, केवल मादेन र विश्वराज राईलाई सचिव, पुण्यप्रसाद बराल र ताराबहादुर सेलिङ लिम्बूलाई सहसचिवको उम्मेदवार बनाउने घोषणा गरेको छ ।

प्रदेश (ख)मा खगेनसिंह हाङ्गाम सभापति, टेक वनेम र मनकुमार यक्सो उपसभापति, नारायणप्रसाद वनेम र विकास साम्रा सचिव र पेम्बा शेर्पा र ज्ञानु घिमिरेलाई सहसचिवको उम्मेदवार बनाउने घोषणा गरेको छ।

संस्थापन इतर पक्षले प्रदेश निर्वाचन क्षेत्र १ (क) मा लक्ष्मीप्रसाद भट्टराईलाई सभापतिको उम्मेदवार घोषणा गरेको छ । भट्टराईको समूहमा गणेश खिम्दिङ र तेजेन्द्र इदिङ्गो उपसभापति, राजकुमार कार्की र ललित गुरुङलाई सचिवको उम्मेदवार बनाउने भएको छ ।

यस्तै, प्रदेश निर्वाचन क्षेत्र (ख) मा उदय आङ्बुहाङलाई सभापतिको उम्मेदवार घोषणा गरेको छ । यो समूहबाट दातेम्बा शेर्पा र सोम बिमलीलाई उपसभापति, दावा शेर्पा र ज्ञानु तेम्बेलाई सचिव र मौसम लिम्बू र अनिल शेर्पालाई सहसचिवको उम्मेदवार बनाउने भएको छ ।

कांग्रेस जिल्ला निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभा निर्वाचन कार्यतालिका प्रकाशित गरी १४ असोज बिहान ८ देखि अपरान्ह ३ बजेसम्म मतदान हुने जनाएको छ । उम्मेदवारको मनोनयन र अन्तिम नामावली प्रकाशन बुधबार नै हुने निर्वाचन अधिकृत तिलक पाण्डेले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १६:३७