२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने

१३ असोज, जनकपुरधाम ।  प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । जनता समाजवादी दल विभाजित भएपछि उनले विश्वासको मत लिन लागेका हुन् । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गते प्रदेशसभा बैठक आव्हानका लागि प्रदेख प्रमुखसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।

जनता समाजवादी दल विभाजन भएर लोकतान्त्रिक समाजवादी दल बनेको छ । प्रदेश २ मा जनता समाजवादी पार्टीका ५५ सांसद रहेकामा १६ जनाले लोकतान्त्रिक समाजवादी दल रोजेका थिए ।

जनता समाजवादी पार्टी विभाजित भए पनि प्रदेश २ मा नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ । प्रदेश २ मा जसपा, नेपाली कांग्रेस, माओवादी केन्द्रको संयुक्त सरकार छ ।  जसपामा ३९, कांग्रेसमा १९, नेकपा माओवादी केन्द्रमा ८ र सरकारलाई समर्थन गरेको एकीकृत समाजवादीसँग १३ गरी ७९ सांसद छन् ।

प्रदेश २ मा कुल १०७ जना सांसद रहेकोमा माओवादीले ३ जनालाई कारवाही गरेपछि अहिले १०४ जना सांसद छन् । जसमध्ये सत्तापक्षसँग ७९, लोकतान्त्रिक समाजवादी पार्टीसँग १६, नेकपा एमालेसँग ८ र नेपाल संघीय समाजवादी पार्टीका १ जना सांसद छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १३:४७