२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

जाजरकोट सदरमुकमा एक सातादेखि यातायात सम्पर्कबिहीन

-हेमन्त केसी

१३ असोज, जाजरकोट । जाजरकोट-डोल्पा सडक खण्डको सदरमुकाम खलंगामा एक सातादेखि सडक अवरुद्ध भएको छ । वर्षायाम सुरु भएसँगै वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडकका कारण यात्रुले हैरानी खेप्नु परेको छ ।

वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्च मात्र हुँदै आएको छ । थाप्ले, ठाँटीलगायतका ठाउँको ढल भरिएर सोही ठाउँमा जम्मा हुँदा सडक भत्कने गरेको छ ।

‘माथि ठूल्ठूला भवन छन्, तल सडक भत्कँदैछ,’ स्थानीय रेशम खड्काले भने, ‘एक साता भइसक्दा पनि किन सडक मर्मततर्फ ध्यान दिइएको छैन ? बुझ्न सकेको छैन । सडक नबनेकै कारण खाद्यान्नलगायत अन्य सामग्रीको संकट पर्दै गएको छ ।’

पूर्वी जाजरकोट, डोल्पा र रुकुम पश्चिममा यातायातका साधन वैकल्पिक रूपमा चलाउन प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाको सहजीकरणमा एकीकृत समाजवादीका उपाध्यक्ष कमान खड्का र सडक विभाग चौरजहारीले सडक मर्मतपछि पासागाड-कालेगाउँ सडक सञ्चालन गरिएको छ ।

भौतिक पूर्वाधार विकास कार्यालय, सडक डिभिजनको सहयोगमा भेरी नगरपालिकाले सो सडक निर्माण गर्ने भनिए पनि अहिलेसम्म सुरु गरिएको छैन ।जसकारण जाजरकोट डोल्पा, रुकुम पश्चिम जाने यात्रुमात्र नभई, सदरमुकामबाट सामग्री ढुवानीमा समेत गाह्रो हुँदै आएको छ ।

सदरमुकाममै साता दिनदेखि सडक अवरुद्ध हुनु र निर्माण ढिलासुस्ती हुँदा सर्वसाधारण मर्कामा परेका छन् । सडक दिगो बनाउन ढल विकास र नाला परिवर्तन गर्नुपर्ने स्थानीयवासी दीपबहादुर घर्तीले बताए । एकै ठाउँमा ६ पटकसम्म सडक भत्किनु नै अचम्म भएको सर्वसाधारण बताउँछन् । अघिल्लो आर्थिक वर्ष मात्र सडक बनाउँदा २५ लाख खर्च भएको थियो । न्युज कारखाना

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार ११:५४