९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

सन् २०३० सम्ममा नेपालबाट रेबिज उन्मूलन गर्ने लक्ष्य

१२ असाेज, काठमाडाैँ । सन् २०३० सम्म नेपालबाट रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसहित विभिन्न सचेतनामूलक कार्यक्रम गरी आज विश्व रेविज दिवस मनाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि सन् २०३० सम्ममा विश्वबाटै रेबिज उन्मुलन गर्ने लक्ष्य लिएको छ ।

हरेक वर्ष २८ सेप्टेम्बरमा मनाइने रेबिज दिवस यसवर्ष ‘रेबिज: फ्याक्ट्स, नट फियर’ अर्थात ‘रेबिज: तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ मनाइएको छ।

यसरी सर्छ रेबिज

रेबिज संक्रमित कुकुर, बिरालो, मुसा वा जंगली जनावरको टोकाइबाट मानिसमा सर्छ। नेपालमा देखिने रेबिज रोगका केसहरूमध्ये करिब ९० प्रतिशत संक्रमित कुकुर तथा बिरालोको टोकाइबाट सर्ने गरेको छ । यस रोगको उपचार नभएकाले रोकथामका लागि रेबिजविरुद्धको भ्याक्सिन लगाउनु आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।

रेबिजबाट बर्षेनि सय जनाको मृत्यु

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी पशु चिकित्सक रोसीका श्रेष्ठका अनुसार नेपालमा बर्षेनि सरदर सय जनाको रेबिज संक्रमणबाट मृत्यु हुने गरेको छ। ‘तर गत वर्ष कोरोना महामारीका कारण अस्पतालमा रेबिजका बिरामीहरूको संख्या नै देखिएन’ श्रेष्ठले न्युज कारखानासँग भनिन्, ‘आब २०७७/७८ मा १८ जनाको मृत्यु भएको तथ्यांक छ।’

नेपालमा अहिले घरपालुवा कुकुरसँगै बेवारिसे कुकुरहरुलाई पनि रेबिजको भ्याक्सिन लगाइने भएकोले रेबिज संक्रमण घटेको श्रेष्ठको भनाइ छ।
आब २०७४/७५ मा कुकुरले ३३ हजार दुई सय चार जनालाई कुकुरले टोकेकोमा ३२ जनाको मृत्यु भएको थियो । यस्तै,आब २०७५/७६ मा ३२ हजार आठ सय ८२ जनालाई टोकेकोमा १८ जनाको मृत्यु भएको थियो । आब २०७६/७७ मा ५२ हजार ६ सय १० जना रेबिजविरुद्ध खोप लगाउन अस्पताल पुगेको तथ्यांक छ २०७७/०७८ मा दुई लाख ९५ हजार रेविजविरुद्धको खोप लगाएको महाशाखाको तथ्यांङक छ।

यो रोगबाट प्रत्येक ९ मिनेटमा विश्वमा एक जनाको ज्यान जाने गरेको तथ्यांक छ भने प्रत्येक वर्ष ६० हजारको मृत्यु हुने गरेको छ । नेपालका सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरूबाट रेविजविरुद्धको खोप उपलब्ध रहेको महाशाखाको भनाइ छ। काठमाडौंस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोप निःशुल्क लगाउन पाइन्छ।

रेबिजबाट कसरी बच्ने ?

घरपालुवा कुकुरलाई अनिवार्य रेबिजविरुद्धको खोप लगाउने
कुकुरले टोकेको स्थानमा तुरुन्तै साबुनपानीले कम्तिमा १५ मिनेटसम्म राम्रोसँग धुने
तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह बमोजिम रेबिजविरुद्धको खोप लगाउने

प्रकाशित मिति : September 28, 2021 at 5:39 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/