३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

माओवादीले दुई सिट जित्ने चर्चाकै बीचमा अर्थमन्त्री शर्माले भने ‘पूर्ण समानुपातिक निर्वाचनमा जाऔँ’

१२ असोज, काठमाडौँ । अर्थ मन्त्री जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन । माओवादी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै  मंगलवार पेरिसडाँडामा अर्थमन्त्री शर्माले यस्तो बताएका छन ।

पछिल्लो समय माओवादीले पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष चुनावमा सीमित एक दुई सिट भन्दा बढी नजित्ने पूर्वानुमानहरू भैरहेको समयमा शर्माको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

मंगलबारको कार्यक्रममा उनले भने  ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन् । ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरुको छैन ।समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्छ ।’

मन्त्री शर्माले पार्टीको नीति निर्माण तहमा दलित समुदायको उचित प्रतिनिधित्वको लागि १५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको भएपनि त्यसलाई कार्यान्वयन गर्न सेल कमिटी र टोल कमिटीहरुबाटै दलित प्रतिनिधित्व सुनिश्चित गर्दै लैजान आग्रह गरे ।

राजनैतिक सत्ता परिवर्तन भएपनि पूरानो सामाजिक सांस्कृति सत्ता यथावतै रहेको चर्चा गर्दै उनले दलित समुदायमाथि भइरहेको सांस्कृतिक उत्पीडन र विभेद त्यसकै परिणाम भएको बताए । उनले दलित मोर्चाको नेतृत्वमा सामाजिक सांस्कृतिक आन्दोलन सशक्त बनाउदै त्यसलाई संघर्षको एजेण्डाको रुपमा अघि बढाउन आग्रह गरे ।

प्रकाशित मिति : September 28, 2021 at 12:09 pm