२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नुवाकोटको बेलकोटगढीमा मेयर रोजगार कार्यक्रम सञ्चालन

११ असोज, काठमाडाैँ । बेल्कोटगढी नगरपालिकाको नगर कार्यपालिका बैठकले मेयर रोजगार कार्यक्रम (संचालन ,व्यवस्थापन ), कार्यविधि २०७८ पारित गरेको छ |

आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट मार्फत मेयर रोजगार कार्यक्रम सचालन गर्ने घोषण भए अनुसार यही असोज ८ गते भएको कार्यपालिकाको बैठकले यस्तो निर्णय लिएको हो ।

कोभिड-१९ ले देश आक्रान्त भईरहेको अवस्थामा यस न.पा.मा कोभिड तथा अन्य कारणले रोजगारी गुमाएका र विदेशबाट फर्केका व्यक्तिहरुको तथ्यांक संकलन तथा रोजगारी उपलब्ध गराउने, स्थानीयस्तरमा भएको स्रोत साधन प्रयोग गरि सक्षम जनशक्ति विकास गरि रोजगारी सिर्जना गर्ने, श्रममुलक तथा उत्पादनमुलक क्षेत्र लाई समेटी विभिन्न सिप, तालिम प्रदान गरि रोजगारीको सिर्जनामा उद्योग, व्यवसाय संचालन तर्फ लाग्न प्रेरित गराई स्वरोजगार बनाउने उद्देश्य यस कार्यक्रम ल्याईएको बेल्कोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनालले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १३७ जनालाई औषतमा ८२ दिन २४ वटा आयोजनाहरु मार्फत रोजगारी दिएको र कार्यक्रमको लक्ष्य, उद्देश्य अनुरुप नै कार्यान्वयन भईरहेको उक्त कार्यक्रम एवं रोजगार सेवा केन्द्रका रोजगार संयोजक हरिप्रसाद गजुरेलले जानकारी दिए |

उनले प्रधानमन्त्री रोजगार कार्यक्रम र मेयर रोजगार कार्यक्रमले नगरपालिकामा दर्ता भएका बेरोजगारलाई न्युनतम रोजगारी दिई विपन्न नागरिकहरुको जीवनस्तरमा थोरै भएपनि टेवा पुग्ने र विभिन्न खालका श्रममुलक सम्बन्धि सिप हासिल भई व्यक्तिको क्षमता समेत विकास हुने जानकारी बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १७:००