२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

इपिएल क्रिकेटमा आज दुई खेल: अफ्रिदीले अन्तिम खेल खेल्दै


११ असोज, काठमाडाैँ । एभरेस्ट प्रिमियर लिग (इपिएल) को तेस्रो दिन आज सोमबार दुई खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स इलेभेन र विराटनगर वारिवर्स भिड्ने छन् । दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स भिड्नेछन् ।

काठमाडौं र विराटनगरबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको खोजीमा हुनेछ ।

काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो । विराटनगर भने चितवनसँग पहिलो खेलमा पराजित भएको थियो।

इपिएलमा मुख्य आकर्षक बनेका साहिद अफ्रिदीको आज अन्तिम खेल हुनेछ । पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदी इपिएलमा दुई खेल खेल्न आएका थिए ।

आजकाे दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र चितवनबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । सोमपालको कप्तानीमा रहेको चितवन दोस्रो जितको खोजिमा हुनेछ । यसअघि आइतबार वर्षाले प्रभावित खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार ०८:००