२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

वर्षाले प्रभावित इपिएल खेलमा पोखरा र भैरहवाले एक-एक अंक बाँडे


१० असोज, काठमाडौँ । वर्षाका कारण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीचको खेल रद्द भएको छ । पोखराले १० ओभर एक बलमा ६५ रन बनाएर सात विकेट गुमाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । वर्षा नरोकिएपछि पोखरा र भैरहवाबीचको खेल रद्द भएको हो । वर्षाले बाधक खेलमा दुवै टोलीले एक-एक अंक बाँडे ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा भैरहवाका तीब्र गतिका बलर दुर्गेश गुप्ताको कसिलो बलिङमा निरीह बनेको थियो । तीन ओभर बलिङ गरेका दुर्गेशले एक मेडन ओभरसहित १६ रन खर्चिएर तीन विकेट लिएका थिए ।

यस्तै धमिका प्रसाद, अविनाश बोहरा र तुलबहादुर थापाले एक-एक विकेट लिएका थिए । पोखराका एसेला गुणारत्नेले सर्वाधिक २३ रन जोडे । यस्तै विवेक यादवले १६ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । पोखराका रिचार्ड लेभी, कप्तान विनोद भण्डारी, लोकेश बम र केसरिक विलियम्स डक आउट भएका थिए ।

शनिबारबाट सुरु भएको इपिएल प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ किंग्स इलेभन विजयी भएको थियो । काठमाडौंले सहरी प्रतिद्वन्द्वी ललितपुर प्याट्रियट्सलाई सात विकेटले पराजित गरेको थियो । यस्तै आज भएको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गर्याे । प्रतियोगिताको तेस्रो दिन तथा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा काठमाडौं र विराटनगर तथा दोस्रो खेलमा चितवन र भैरहवा भिड्ने छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १६:३९