२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

धादिङका तीन पालिकामा कांग्रेसले छान्न सकेन सभापति, देउवा र पौडेल समूहबीच लफडा

-केशव अधिकारी

१० असोज, धादिङ । शनिबार सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनको गाउँ/नगर अधिवेशनबाट धादिङको १३ मध्ये १० वटा पालिकामा सभापति चयनको भएको छ । गंगाजमुना र सिद्दलेक गाउँपालिकामा नेतृत्वका लागि मतदान भएको थियो भने नीलकण्ठ नगरपालिका, नेत्रावती डवजोङ र रुवीभ्याली गाउँपालिकामा भने निर्वाचन प्रक्रिया रोकिन पुगेको छ ।

धुनिवेसी नगरपालिकासहित ९ पालिकामा सर्वसम्मत सभापति चयन भएको नेपाली कांग्रेस जिल्ला समितिले जनाएको छ । अधिवेशनबाट धुनिवेसी नगरपालिकामा सुरज उप्रेती, गल्छी गाउँपालिकामा दीपक कार्की, थाक्रे गाउँपालिकामा रामप्रसाद बिडारी, गजुरी गाउँपालिकामा भूमि कँडेल, बेनिघाट रोराङ गाउँपालिकामा ऋषिनाथ त्रिपाठी, ज्वालमुखी गाउँपालिकामा रेशमराज काप्री, त्रिपुरासुन्दरी गाउँपालिकामा राजु उप्रेती, खनियाबासमा मरिचमान तामाङ सर्वसम्मत सभापति निर्वाचित भएका छन् ।

निर्वाचन भएका गंगाजमुनामा फैसिङ तामाङ र सिद्दलेकमा रामशरण गिरी विजयी भएको कांग्रेस जिल्ला सदस्य विकास श्रेष्ठले जानकारी दिए । सदरमुकाम धादिङबेंसीस्थित नीलकण्ठ नगरपालिकाको मतदान प्रक्रिया शुरु भएको केहीबेरमा दुई पक्षबिच विवाद बढेर रोकिएको थियो । मतदानस्थलमा दुई पक्षबीच विवाद हुन थालेपछि निर्वाचन समितिले मतदान स्थगित गराएको हो ।

नीलकण्ठ नगरपालिकामा मेयर भिम ढुंगानाबाट पक्षबाट शम्भुसिहं ठकुरी र पूर्व जिल्ला सभापति रामनाथ अधिकारी पक्षबाट ध्रुव रिजाल अध्यक्षका उम्मेदवार रहेका छन् । नीलकण्ठमा पुनःमतदान हुने भनिए पनि दुई पक्षबीच सहमति नजुट्दा मिति अनिश्चित हुन पुगेको कांग्रेसका एक जिल्ला सदस्यले बताए ।

जिल्लामा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षको नेतृत्व पूर्वमन्त्री दिलमान पाख्रिन र पौडेल पक्षको नेत्तृत्व पूर्वसांसद रामनाथ अधिकारीले गरिरहेका छन् । देउवा पक्षमा पूर्वमन्त्री पाख्रिन, बागमती प्रदेशसभा सांसद डा राजाराम कार्की, नीलकण्ठ नगरपालिकाका प्रमुख ढुंगाना, नेता शिवराज अधिकारीलगायत छन् । यसैगरी पौडेल पक्षमा काँग्रेसका पुराना नेता हरि अधिकारी, पूर्वसांसद रामनाथ अधिकारी, जिल्ला सभापति रमेश धमला लगायत रहेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १६:३३