निःशुल्क दन्त परीक्षण गर्न पाएपछि दंग परे नुवाकोट दरबार क्षेत्रका नागरिक
१० असोज, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २, नुवाकोट हेल्थपाेष्टमा नि:शुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं बिशाल बजारकाे आयोजना र नुवाकोटमा क्रियाशील लायन्स क्लब तथा लियो क्लबहरुकाे सहयोग तथा स्थानीय नुवाकोट युवा क्लबकाे विशेष संयाेजनमा उक्त शिविर संचालन भएको हाे।

जनचेतनाकाे हिसाबले याे दन्त शिविर अत्यन्तै महत्त्वपूर्ण रहेको नुवाकोट युवा क्लबका अध्यक्ष सराेज डंगोल बताए। बेलाबेलामा हुने यस्ता शिविरहरुले स्थानीय जनताले धेरै लाभ पाउने हुनाले सहयोगी संस्थाहरुले गाउँ गाउँमा स्वास्थ्य शिविरहरु संचालन गर्नेमा ध्यान दिनुपर्नेमा अध्यक्ष डंगोलले जाेड दिएकाछन्।
दन्त शिविरमा आएर निशुल्क दाँतको परीक्षण गर्न पाएपछि स्थानीय नागरिक भने दंग परेका छन । उनीहरूले दन्त शिविर कम्तिमा वर्षमा एक पटक आयोजना गरिदिन अनुरोध समेत गरेका छन ।

लियो क्लब अफ नुवाकोट क्यापिटलका अध्यक्ष दिविस्ता प्रधानका अनुसार नुवाकोट हेल्थपाेष्टमा संचालन भएको कार्यक्रममा १५० जना भन्दा बढीले दन्त सेवा लिएकाे र २० जनाले रक्तदान गरेकाछन् ।
कार्यक्रममा सेवा लिन आउनेहरुलाई सेनिटाईजर, माक्स, दाँत माझ्ने ब्रुस मंजन तथा ओखतीहरु नि:शुल्करुपमा वितरण गरिएको आयाेजक क्लबका अध्यक्ष याेगेश श्रेष्ठले जानकारी दिनु भयाे।

अध्यक्ष श्रेष्ठका अनुसार सहयोगी संस्थाहरुकाे उत्साह र सेवाग्राहीहरुकाे आवश्यकतालाई मध्यनजर गरि नुवाकोट हेल्थपाेष्टमा छिट्टै स्त्रीरोग सम्बन्धि शिविर गर्ने याेजना तय भएकोछ।
मानवीय सेवामा सकृयता पुर्वक कार्य गर्दै आएको लायन्स क्लबले पछिल्लो समय नुवाकोटमा समेत आफ्नो गतिविधि बढाएको छ।

प्रकाशित मिति : September 26, 2021 at 2:18 pm





