३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि

१० असोज, काठमाडौँ । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदैछ ।  जिल्ला अदालत मोरङमा आजबाट अन्तिम बहस हुने भएको हो ।

तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्करको समूहको यातनाका क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका १ मा शाक्यको मृत्यु भएको थियो । हत्या अनुसन्धानका क्रममा सुन तस्करीको र्‍याकेट पत्ता लागेको थियो । करिब चार वर्षअघि दर्ता भएको शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने छ ।

मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेतीको समूहले दुबईबाट २०७४ साल माघ ९ गते तस्करी गरेर साढे ३३ किलो सुन काठमाडौँ ल्याइपुर्‍याएपछि गायब बनाइएको थियो।

अहिलेसम्म फेला नपरेको सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनम शाक्यको मृत्यु भएको थियो। उक्त प्रकरणमा ७७ जना अभियुक्तमध्ये अहिलेसम्म मुख्य अभियुक्त गोरेसहित ५५ जना पक्राउ परेका छन्।

प्रकाशित मिति : September 26, 2021 at 11:04 am