२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

परराष्ट्र मन्त्री खड्कालाई भारतका विदेशमन्त्रीले दिए बधाई

७ असोज, काठमाडौँ । परराष्ट्र मन्त्री डा.नारायण खड्कालाई भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिँदै उहाँसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताए ।

यसैबीच परराष्ट्र मन्त्री खड्का र भारतका विदेश मन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल रहेको एक भारतीय कूटनीतिज्ञले न्युयोर्कबाट बताए। संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा भारतका विदेशमन्त्री हाल न्यूयोर्कमा छन् भने परराष्ट्रमन्त्री खड्का सोही सिलसिलामा आज अपराह्न त्यहाँ पुग्दै छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्र मन्त्रीको अनौपचारिक बैठक यसपटक अफगानिस्तानको बदलिँदो राजनीतिक परिदृश्यलाई दृष्टिगत गरी स्थगन गरिएका बेला हुनलागेको नेपाल र भारतका विदेश मन्त्रीको भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार ११:१०