२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सहादत प्राप्त गरेको ४३ वर्षपछि क्याप्टेन यज्ञबहादुर थापालाई पदक

४ असोज, ओखलढुंगा । क्याप्टेन यज्ञबहादुर थापाले सहादत प्राप्त गरेको ४३ वर्ष भइसकेको छ । सरकारले आइतबार घोषणा गरेको मानपदवी पाउनेको सूचीमा थापाको नाम ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ पदक पाउने १६ औं नम्बरमा छ ।

प्रजातन्त्रका सेनानी थापा २०३१ सालको टिम्बुरबोटे काण्डका कमान्डर थिए । टिम्बुरबोटेबाट भाग्न सफल उनी केही दिनपछि हालको चिशंखुगढी गाउँपालिकामा पर्ने खानीभन्ज्याङ नजिकैको परालको कुन्युबाट पक्राउ परेका थिए । उनलाई तत्कालीन पञ्चायत शासकले काठमाडौंमा लगेर चार वर्ष जेल राखेका थिए ।

२०३५ सालमा विराटनगर बमकाण्डमा समातिएका भीमनारायण श्रेष्ठसँगै मृत्युदण्ड दिइएको थियो । उनीहरूलाई ठ्याक्कै कुन ठाउँमा मृत्युदण्ड दिइयो भन्ने यकिन नभए पनि कतिपयले कमला नदी किनारतिर ल्याएर मृत्युदण्ड दिएको बताउँछन् । क्याप्टेन थापालाई नेपाल सरकारले २०७२ फागुनमा शहिद घोषणा गरेको थियो ।

मृत्यु भएको ३७ वर्षपछि शहिद घोषणा गरिएका थापालाई मरणोपरान्त ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ पदक दिने सरकारको निर्णयले सहिदको सम्मान भएको राजनीतिकर्मीहरू बताउँछन् ।

एकीकृत समाजवादीका नेता दिपक फुयाँलले सम्मानलाई सरकारले विवादरहित बनाउन नसके पनि सम्मानित भएका केही व्यक्तिहरू सम्मानयोग्य रहेको बताए । उनले भने, ‘थापालाई ४३ वर्षपछि सम्मान योग्य देख्नु अनौठो भए पनि सह्रानीय काम हो ।’ सुरुमा नेपाली सेनाको क्याप्टेन पदमा कार्यरत थापा पछि नेपाली कांग्रेसको पञ्चायत विरोधी आन्दोलनमा समाहित भएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १२:५३