२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

नेपाल निजामति कर्मचारी संगठनको भेला असोज २ मा, ९० प्रतिशत कर्मचारी एकै ठाउँमा

३१ भदाै, काठमाडाैँ । नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेला असोज २ गते हुने भएको छ । भेलाको तयारी पूरा भएको असोज २ गतेदेखि सुरू हुने संगठनका अध्यक्ष केदार देवकोटाले जानकारी दिए । संगठन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकटको कर्मचारी संगठन हो ।

माधव नेपालको पार्टीले कर्मचारी र शिक्षकलाई सदस्यता नदिने सार्वजनिक घोषणा गरेको केही सातामै हुन लागेको भेलामा विगतमा नेपाल निकट भनेर चिनिएका कर्मचारी नेताहरू समेत अधिकांश संगठनमै रहने भएका छन । समाजवादीले कर्मचारीलाइ पार्टीमा सम्बद्ध नगराउने बताएपछि संगठनमा अावद्धहरू संगठनमै रहन लागेका हुन ।

संगठनमा विगतको तुलनामा १० प्रतिशत सदस्य तटस्थ र यताउता भएको भन्दै ९० प्रतिशत भन्दा बढी कर्मचारी संगठनकै छातामा रहेको बताए  । अध्यक्ष देवकोटाले पार्टीको टुटफूटले कर्मचारी संगठनलाई केही असर नगरेको बताउँदै भने, ‘विगत देखि नै संगठनको गरिमा घटाउन उद्यत केही साथीहरु पदीय मर्यादामा बस्नु भएको छैन। त्यसको हिसाब हामीले गरेका छौँ ।’

संगठनको एक पक्षले असोज २ गतेको केन्द्रीय कमिटी बैठक र राष्ट्रिय भेला रोक्न संस्थापनसँग माग गरेको छ । तर संगठनका बैठक, भेला रोकेर बन्धक बनाउन नसकिने जवाफ संस्थापनले दिएको छ ।

‘गतिशिल संगठनका बैठक र भेला रोकौं भन्ने कुरा कदापी मान्य हुदैनन् ’ बरिष्ठ उपाधक्ष्य लेखनाथ कोइरालले भने ‘३३ हजार सदस्य भएको कर्मचारी संगठन डेढ बर्षदेखि न बैठक न भेला । सुस्ताएर बसेको संगठन अब चलायमान हुन्छ । सबै कर्मचारी साथीहरुलाई कर्मचारीको मुल प्रवाहको रुपमा रहेको संगठनबाट दायाँवायाँ नगर्न आग्रह गर्दछौं ।’

उपाधक्ष्य भवानी दाहालले असोज २ को भेला रोकिने भन्दा पनि कसरी हुन्छ देशभरीबाट ठूलो संख्यामा कर्मचारी जुटाउने तयारी भइरहेको बताइन । भेलामा कम्तीमा १ हजार निजामती कर्मचारी उतार्ने संगठनको लक्ष्य छ । दाहालका अनुसार भेलाको प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन । विशिष्ट अतिथीहरुमा महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी र शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार ०८:२४