२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रहरीमा ४१ जना कांग्रेस कार्यकर्ता भर्ति गरेको सूचना चुहाउने नेविसंघका नेता पक्राउ

२६ भदौ, काठमाडौँ । नेपाल प्रहरीमा एकै पटक ४१ जना नेपाली कांग्रेसका कार्यकर्ता भर्ती गरेको सूचना चुहाउने नेविसंघका एक जना नेता पक्राउ परेका छन । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँड निकटकै नेविसंघका नेता नरेन्द्र गुरूङ शनिबार पक्राउ परेका हुन । गुरूङ प्यूठानबाटै पक्राउ परेका हुन ।

कांग्रेसको त्यो पनि प्रधानमन्त्री र गृहमन्त्री निकट भएका गुरूङले गोप्य सूचना सामाजिक सञ्जाल मार्फत चुहाएपछि उनलाई प्रहरीलाई अनुरोध गरेर पक्राउ गर्न लगाइएको हो । गुरूङलाई प्रकाउ गर्नुअघि कांग्रेस प्यूठानका उपसभापतिले प्रहरीलाइ पक्राउका लागि लिखित रूपमै अनुरोध गरेका थिए ।

प्यूठानका उपसभापति बद्री लम्सालले विज्ञप्ति मार्फत आफ्नो र कांग्रेसको बचाउ गर्दै पार्टीलाई थप क्षति हुनबाट रोक्न गुरूङलाई पक्राउ गराएका हुन । गुरूङले नेपाल प्रहरीमा एकै पटक कांग्रेसका ४१ जना कार्यकर्ता भर्ती भएको र त्यसमा लम्साल र गृहमन्त्रीको ठूलो भूमिका रहेको भन्दै प्रहरीमा नाम निस्केका ती कार्यकर्तालाई बधाई दिँदै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए ।

कांग्रेस नेताहरूको दबाबमा गुरूङले उक्त सूचना फेसबुकमा राखेको केही समयमै हटाएका थिए । जहाँ उपसभापति लम्सालले तयार गरेर दिएको सूचीका कांग्रेस कार्यकर्ताले प्रहरीमा नाम निकालेकोमा हाइलाइट गरिएको लिस्ट थियो । विवादबाट पन्छिन लम्सालले निकालेको विज्ञप्ति तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार १४:२०