२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

खोटाङमा चार जना वडा सदस्यसहित आठ जनप्रतिनिधि माधव नेपालको पार्टीमा

२० भदौ, खोटाङ । खोटाङका जिल्ला समन्वय समिति प्रमुखसहित आठ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङसहित आठ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् ।

चाम्लिङसँगै जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर कार्की, जिल्ला समन्वय समितिकी सदस्य रञ्जना राईलगायतले आइतबार जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

यस्तै, बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष भुवलराज राई, बराहपोखरी गाउँपालिका–५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राईले एमाले छाडेर समाजवादी रोजेका हुन् ।

निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय सीमा दिएपछि जिल्लाका जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । नयाँ दल रोज्ने अन्य जनप्रतिनिधिले पनि क्रमशः सनाखत गर्ने एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रहेका चाम्लिङले बताए ।

खोटाङका प्रदेशसभा सदस्य राजन राईले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार २३:०७