३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

भारतीय प्रधानमन्त्री मोदीविरूद्ध बोले जेल हाल्ने सरकारको चेतावनी (विज्ञप्तिसहित)


२० भदौ, काठमाडौँ । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । आइतबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री मोदीको विरूद्धमा बोल्ने, नाराबाजी गर्ने र पुत्ला जलाउनेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

नेपाली आकाशमा अनधिकृत रुपमा भारतले हेलिकप्टर उडान गरेको र दार्चुला तुइन प्रकरणमा नेपाली नागरिक जय सिंह धामीको मृत्यु भएको घटनामा सरकार चुप लागेर बसेको भन्दै एमालेका भ्रातृ संगठनहरूले निरन्तर विरोध गर्दै आएका छन ।

विज्ञप्तिमा भनिएको छ, ‘छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी,जुलुस प्रदर्शन र पुत्ला दहन गर्ने गतिविधिप्रति ध्यानाकर्षण भएको छ र यस्ता उच्छृङ्गल र निन्दनीय गतिविधि प्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ । ‘ मन्त्रालयले मित्रराष्ट्रहरु विरुद्ध हुने गतिविधि गर्नेलाई कारबाहीगर्ने चेतावनी दिएको छ । ​​​​​​​

सरकारले निरन्तर नागरिक माथि धम्कीपूर्ण भाषामा विज्ञप्ति जारी गरेर चेतावनी दिइरहेको छ । यो लोकतन्त्रिक गणतन्त्रात्मक मुलुकका लागि थोरै पनि सुहाउने कुरा होइन । यसका सम्बन्धमा सबै राजनीतिक दल र नागरिक समाजले बेल्न ढिला भैसकेको छ ।

यसअघि शुक्रबारमात्रै सरकारले एमसीसीको बारेमा बोले वा बिरोध गरे सिधै जेल्ने चेतावनीको विज्ञप्ति प्रकाशित गरेको थियो । गृहमन्त्रालयको प्रवक्ताले हस्ताक्षर गरेको विज्ञप्तिमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता समेत कुण्ठित गर्ने गरी धम्कीपूर्ण भाषाको प्रयोग भएको छ ।

यसअघि सरकारले विज्ञप्ति नै प्रकाशन गरे जयसिंह धामी हत्याका बारेमा समाचार नलेख्न आदेश दिएको थियो । धामी तुइनतर्ने क्रममा भारतीय सीमा सुरक्षाबल एसएसबीले तुइट काटिदिएपछि महाकालीमा वगेर वेपत्ता भएका थिए ।

गत साउन १६ गते सरकारले एसएसबीले तुइन काटेर नदीमा वेपत्ता पारेका नेपाली नागरिक धामीको बारेमा समाचार नलेख्न निर्देशन दिएको दिएको हो । गृह मन्त्रालयले तथ्य अनुसन्धानका लागि टोली घटनास्थल गएको बताउँदै तत्काल केही पनि मन्त्रालयको समाचारले भ्रम सिर्जना हुने भन्दै छानविन सकेपछि मात्र समाचार लेख्न अनुरोध गरेको थियो ।

एक जना नागरिकको ज्यान लिनेगरी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर नदीमा खसालेर हत्या गर्दा पनि सरकार भने उल्टै भारतीयको बचाउमा देखिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको विज्ञप्तिमा प्रकाशित समाचारहरूप्रति आपत्ति जनाइएकोमात्र छैन घुमाउरो भाषामा धम्की समेत दिइएको थियो । मन्त्रालयको विज्ञप्ति पनि त्यस्तै गरी धम्कीपूर्ण भाषा प्रयोग भएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १४:१४