२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

एमाले कि नेकपा एस पार्टी रोज्न मुगुमा आयोगले तोक्यो समयसीमा

-खड्क सुनार

२० मुगु , भदौ । जिल्ला निर्वाचन कार्यालय मुगुले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्न इच्छुक स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएको छ । चारवटै स्थानीय तहलाई पत्र पठाउँदै निर्वाचन कार्यालयले सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको हो ।

नेकपा एकीकृत (समाजवादी) पार्टीमा जान इच्छुक नेकपा एमालेका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरूलाई २२ भदाैसम्मको समयसीमा तोकिएको छ ।

सरकारले हालै ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था गरेकाे छ ।

आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।

प्रदेशसभा सदस्यले सनाखत गर्न जाँदा सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा प्रदेशसभा सचिवालयबाट जारी भएको परिचयपत्र वा प्रमाणितपत्र बोकेर जानुपर्ने जिल्ला निर्वाचन कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख धनकृष्ण बढुवालले बताए ।

त्यसैगरी, स्थानीय तहको सदस्यका लागि सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा सम्बन्धित स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र अनिवार्य गरिएको छ । हालसम्म चारवटै स्थानीय तहका कुनै पनि जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेको भने नखुलेको बढुवालले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७८, आईतवार १२:५२