३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

चितवनका दुई पत्रकारलाई प्रेस चौतारी दियो जोखिम पत्रकारिता पुरस्कार

१९ भदाै, चितवन । प्रेस चौतारी नेपाल, जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशिल दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कारसहित सम्मान गरेको छ ।

कोरोना भाइरसको महामारी, बाढि, पहिरो र डुवानको जोखिम क्षेत्रमा पुगेर रिर्पोटिङ गर्ने चितवन पोष्ट दैनिकका कुलप्रसाद काफ्ले र नारायणी अनलाइनका हिरालाल आचार्यलाई नगद १०÷१० हजार रकमसहित जोखिम पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।

शनिवार भरतपुरको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेल पुरस्कार घोषणा गरेका थिए ।

सो पुरस्कारको रकम एनआएनए जापानका पूर्व सचिव तथा चितवन समाज जापानका पूर्व अध्यक्ष सरोज कण्डेलले प्रदान गरेका हुन् । कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष सुवास पण्डितले चितवनमा प्राकृतिक विपत्ति (बाढी, पहिरो) को रिर्पाेटिङ्का विषय होस् वा निकुञ्जमा रिर्पाेटिङ गर्न जाँदा होस् वा महामारीका बेला स्वास्थ्य क्षेत्रको विषयमा पत्रकारिता गर्दा होस् पत्रकारहरुले जोखिम मोलिरहनु परेको बताए ।

यस्तै समाजिक विकृती एवम् दुरुपयोगका विषयमा आवाज उठाउन खोज्दा कहिलेकाहीँ प्रेस स्वतन्त्रता विरुद्धका गतिविधिहरु चितवनमा हुने गरेको उनले बताए ।

सो अवसरमा कोरोना भाइरस संक्रमण उच्च समयमा पुगेको बेला पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री चौतारीमार्फत उपलब्ध गराउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई मायाको चिनोबाट प्रदान गरिएको थियो ।

प्रकाशित मिति : September 4, 2021 at 5:23 pm