२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

आज कृष्ण जन्माष्टमीः किन र कसरी गरिन्छ श्रीकृष्णको पूजा ?

१४ भदाै, काठमाडाैँ । हिन्दुहरूका अनेक चाड र पर्वहरू प्रचलनमा छन् । परापूर्वकालदेखि निरन्तर चलिआएका यस्ता पर्वमध्ये एक हो, श्रीकृष्ण जन्माष्टमी ।

हिन्दुहरूले भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णलाई लिने गरेका छन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव मात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका मानिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न अर्जुनलाई युद्धका निम्ति उत्प्रेरित गर्ने क्रममा श्रीकृष्णले व्यक्त गरेका विचार र दर्शनलाई ‘श्रीमद्भगवद् गीता’का रूपमा लिइन्छ । यो हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने र ‘भगवान्’का रूपमा पुजिँदै आएका श्रीकृष्णको जन्म हिन्दु पञ्चाङ्गअनुसार भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको थियो । यसर्थ उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिँदै आएको छ ।

कृष्ण जन्माष्टमीलाई अनेक नामले बुझिन्छ । कसैले सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती पनि भन्ने गरेका छन् ।

कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिरहरूमा श्रीकृष्णको पूजा, आराधना, प्रवचन, भजन–कीर्तन गरिन्छ । हिन्दु महिलाहरू दिनभर ब्रत बसी रातभर जाग्राम बस्ने चलन पनि छ ।

किन र कसरी गरिन्छ श्रीकृष्णको पूजा ?

यस दिन श्रीकृष्णको पूजा आराधाना गर्नाले सन्तान प्राप्ति, आयु र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस पर्व मनाउनाले हरेकको मनोकामना पूरा हुने हिन्दु धर्मावलम्बीको मान्यता छ । भनिन्छ- जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई लाभ हुन्छ ।

श्रीकृष्ण जन्माष्टमी मनाउने विभिन्न तरिका छन् । प्रायः बालक कृष्णको मूर्ति बनाएर उक्त मूर्तिको पूजा गर्ने चलन रहेको छ । उसो त प्रेम र दाम्पत्य सुखका लागि राधा-कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने गरिएको छ । यस दिन शंख वा शालिग्रामको पूजा पनि गरिन्छ ।

श्रीकृष्णको पूजा आराधनाका लागि शृंगारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ । श्रीकृष्णको पूजामा कालो रङ बर्जित छ ।

श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुहाइ गरेर ब्रत बस्छन् । दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पंचामृतले स्नान गराइदिन्छन् ।

अन्त्यमा प्रतिमालाई जलले स्नान गराएर पीताम्बर, फूल र प्रसाद चढाउँछन् । याद रहोस् कि श्रीकृष्णको पूजा गर्ने व्यक्तिले कालो वा शुद्ध सेतो वस्त्र धारण गर्न मनाही छ । पूजा सकेर प्रसाद ग्रहण गरेपछि श्रीकृष्ण जन्माष्टमी पूजन कर्म सकिन्छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ०९:२७