२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

आठ वर्षदेखि पुल निर्माणको काम अधुरै: निजीले बनाएको आकाशे पुल पनि बग्यो

१३ भदौ, धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ र ९ मा पर्ने राजघाटका स्थानीयलाई नुनदेखि सुन किन्न धनगढी आउनुपर्छ । राजघाट र धनगढीे सीमा भएर बग्ने मोहना नदीमा सरकारले पुल बनाउन थालेकाे आठ वर्षमा पनि पूरा भएकाे छैन । निजी क्षेत्रबाट निर्मित आकाशे पुल पनि बिहीबार बाढीले बगाइदिएको छ ।

यसअघि स्थानीय पैसा तिरेर आकाशे पुल वा नदी नै तर्न बाध्य थिए । अब त त्यो विकल्प पनि हटेको छ ।पुल बगाएपछि बर्खामै नदी तर्न बाध्य भएका धनगढीका पुरन राना बेपत्ता भएका छन् । बिहीबार पुल तरेर राजघाट गएका उनी शुक्रबार बिहान धनगढी फर्कदै थिए । तर, त्यतिन्जेल पुल बगिसकेको थियो । शुक्रबार साँझ नदी तरेरै आउन खोज्दा बाढीले बगाएर उनी बेपत्ता भएको दाइ रामदाश रानाले बताए ।

सरकारले आठ वर्षअघि मोहना नदीमा पुल निर्माण थालेको थियो । तर, कहिले बन्छ अहिलेसम्म थाहा छैन । २०७१ मा पुल पक्की पुल निर्माण थालिएको हो ।

कृष्णपुर नगरपालिका–९ का वडा अध्यक्ष छत्र महराले पुल नहुँदा स्थानीयलाई समस्या भएको बताए । ‘हिउँदमा त्यति समस्या हुँदैन । तर, बर्खामा धनगढी जान सकस हुन्छ,’ उनले भने, ‘निजी क्षेत्रले बनाएको पुल पनि बगाएपछि बर्खामा कसरी नदी तर्नु ?’

मोहना नदीमा निर्माणाधीन पक्की पुलको ढलान भइसकेको र भरान गरेर भए पनि पैदल हिँड्नसम्म बनाउन सकिने उनले बताए । त्यसका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरसँग छलफल भएको छ ।

स्थानीय हरि भुत्यालका अनुसार राजघाटका स्थानीयका लागि नजिकको बजार धनगढी हो । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर जान, आउन एक दिन नै लाग्छ । तर, नदीमा पुल छैन ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार ०९:३४