२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

आत्महत्या गर्नेमा बढी विवाहित पुरुष, गरिबी र अशिक्षाले आफूले आफैंलाई मार्छन्

११ भदाै, झापा ।

घटना-१

कनकाई-१ सिर्जना टोलका रविन विक, उनकी श्रीमती मुना र आठ महिने नाबालिका रुविनासहित घरमै झुण्डिएको अवस्थामा फेला परे । आठ महिनाकी रुविनाको हत्या गर्दै बुवाआमाले पनि आफूले आफैंलाई मारे । कारण- ऋणमा डुब्नु । म्यानपावरहरूमा एजेन्टको काम गर्ने रविन आर्थिक रूपमा कमजोर भएपछि आत्महत्याको बाटो रोजेका थिए । रविनले आफूलाई मात्र मारेनन्, आठ महिनाकी निर्दोष छोरी मारे र श्रीमतीलाई पनि मर्न बाध्य बनाए ।

ऋण लागेपछि गत साउन अन्तिम साता वैदेशिक रोजगारीमा जान उनी काठमाडौं गए । साउदीका लागि भिसा लागेको थियो । विदेश उड्न कोरोना परीक्षण अनिवार्य छ । ३१ साउनमा काठमाडौंमा कोरोना परीक्षण गराए । रिपोर्ट आयो-पोजेटिभ । वैदेशिक रोजगारीको उनको यात्रा रोकियो ।

उनी घर फर्किए । विदेश गएर ऋण तिर्ने बाचा गरेका उनी घर फर्किएपछि साहुले च्याप्न थाले । पीर खप्न नसकेर सोमबार २९ वर्षीया श्रीमती मुना र आठ महिनाकी छोरी रुविनासहित घरमै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परे ।

घटना-२

यही घटनाको भोलिपल्ट अर्थात् मंगलबार अर्जुनधारा-५ लक्ष्मीपुरका मानव होटल सञ्चालक ३८ वर्षीय राजेश महत झुण्डिएको अवस्थामा मृत भेटिए । नयाँ घरमा पानी हाल्न गएका उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यी आफूले आफैंलाई मार्नेको प्रतिनिधिमूलक घटना हुन् । पछिल्लो समय झापामा आत्महत्या गर्नेको संख्या बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष ०७७/०७८ मा उपत्यकापछि सबैभन्दा धेरै आत्महत्या गर्नेको संख्या झापामा रहेको नेपाल प्रहरीको तथ्यांक छ ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/०७८ मा काठमाडौंमा ३९१ जनाले आत्महत्या गर्दा त्यसपछि झापामा ३३५ ले एक वर्षमा आत्महत्या गरेका छन् । यस्तै, चालु आर्थिक वर्षको साउनमा मात्र झापामा १६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा जिल्लामा २८८ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७६/०७७ मा भने यो संख्या २३ प्रतिशतले घटेर २२३ मा आएको थियो । तर, आर्थिक वर्ष ०७७/०७८ मा भने ५० प्रतिशतले वृद्धि हुँदै आत्महत्या गर्नेको संख्या ३३५ पुगेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

१५ वटा स्थानीय तह रहेको झापामा आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै मेचीनगरमा रहेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७७/०७८ मा मेचीनगरमा ६२ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसारे ९३ प्रतिशतले झुण्डिएर आत्महत्या गर्ने गरेका छन् । ५ प्रतिशतले विष सेवन, एक/एक प्रतिशतले हामफालेर र हतियार प्रयोग गरी आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा आत्महत्या गर्नेमध्ये सबैभन्दा धेरै २६ प्रतिशत १८ देखि २५ वर्ष उमेर समूहका रहेको प्रवक्ता डिएसपी थापाले बताए । आर्थिक वर्ष ०७७/०७८ मा भने सबैभन्दा धेरै २२ प्रतिशत ४५ देखि ६० वर्ष उमेर समूहकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७६/०७७ मा आत्महत्या गर्नेमध्ये ५९ प्रतिशत पुरुष थिए । आर्थिक वर्ष ०७७/०७८ मा यो संख्या बढेर ६२ प्रतिशत पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आफैँलाई मार्नेमा ७६ प्रतिशत विवाहित छन् ।

प्रहरीका अनुसार आत्महत्या गर्नेमध्ये धेरै ज्याला मजदुरी गरेर दैनिकी चलाउने रहेका छन् । आर्थिक वर्ष ०७६/०७७ मा आत्महत्या गर्नेमध्ये २९ मजदुर थिए भने आर्थिक वर्ष ०७७/०७८ मा यो बढेर ३० प्रतिशत पुगेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नेको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा धेरै साधारण लेखपढ गर्नेको संख्याा छ । आर्थिक वर्ष आर्थिक वर्ष ०७६/०७७ र ०७७/०७८ लाई तुलनात्मक रूपमा विश्लेषण गर्दा आत्महत्या गर्नेमध्ये ६९ प्रतिशत साधारण लेखपढ गर्न मात्र सक्ने रहेको थापाले जानकारी दिए ।

घरायसी समस्या, प्रेम सम्बन्ध, मानसिक विचलन, अत्याधिक मादक पदार्थ सेवन, आर्थिक लेनदेनलगायत कारणले आत्महत्या गर्ने गरेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । ‘आत्महत्याको घटना विश्लेषण गर्दा घरायसी समस्याका कारण आत्महत्याका घटना धेरै भएका छन्,’ डिएसपी थापाले भने, ‘मानसिक विचालनका कारण आत्महत्या गरेका धेरैजसोले डिप्रेसन सम्बन्धी औषधि प्रयोग गरेको पाइएको छ । यो तथ्यांक हेर्दा आत्महत्याको कारण गरिबी र अशिक्षा हो भन्न सकिन्छ ।’

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १६:०९