२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

एक साता थपियो निषेधाज्ञा, सार्वजनिक सवारीमा जोर-बिजोर प्रणाली लागू

८ भदौ, तनहुँ । तनहुँमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसअनुसार मंगलबारदेखि सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागू भएको हो ।

गतेअनुसार जोर–बिजोर प्रणालीमा सवारी चल्ने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । विहान ६ देखि साँझ ६ बजेसम्म मात्र सवारी चलाउने समय तोकिएको छ । सिट क्षमताअनुसार स्वास्थ्यको मापदण्ड पालना गरेर सवारी चलाउनुपर्ने प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।

यस्तै, जिल्लामा पुरानै मोडालिटीमा फेरि एक साता निषेधाज्ञा लम्बिएको छ । सोमबार राति १२ बजेदेखि पछिल्लोपटक जारी गरिएको निषेधाज्ञाको समय सकिएको थियो । भदौ १४ गते राति १२ बजेसम्मका लागि फेरि निषेधाज्ञा थपिएको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । हाल कोरोना संक्रमणदर स्थिर रहेकाले एक साता लकडाउन थप गरेको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले तरकारी, फलफूल, खाद्यान्नलगायतको अत्यावश्यक वस्तु र सेवा खरिद बिक्री हुने व्यवसायलाई बिहान ५ देखि ११ बजेसम्म सञ्चालनको अनुमति दिएको छ । सेवा तथा वस्तुको व्यवसाय बिहान १२ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ । यसअगाडि पनि अत्यावश्यक र खोल्न अनुमति दिइएका व्यवसाय सञ्चालन गर्न भिन्न भिन्न समय तोकिएको थियो । तर, प्रशासनले अनुगमन नगर्दा सबै व्यवसाय बिहानदेखि बेलुकासम्म निर्वाध खुलिरहेका छन् ।

२२ वैशाखदेखि तनहुँमा निषेधाज्ञा निरन्तर जारी छ । जेठ मसान्तलगत्तै निषेधाज्ञा खुकुलो बनाइएको थियो । सोमबारदेखि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा पनि बारअनुसार पालिकावासीलाई दिन थालिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १४:३६