३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

सदस्यता विवादः भदाै ८ बाट कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूले धर्ना दिने

६ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसको सदस्यता विवाद झनै बढ्दै गएको छ । जिल्ला सभापतिहरूले भदाै ७ सम्म कियाशिल सदस्यहरूको सूची सार्वजनिक नभए ८ गतेदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने चेतावनी दिएका छन ।

जिल्ला सभापतिहरूको तर्फबाट विज्ञप्ति जारी गर्दै नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले तीन बुँदे माग पूरा नभए धर्नासुरू गर्ने चेतावनी दिएका छन । उनले भनेका छन, ‘हाम्रो उपरोक्त मागहरुलाई संवोधन गर्नेगरी यही भाद्र ७ गते भित्र आवश्यक कदम नचालिएमा भोलिपल्ट (भाद्र ८ गते) बाट केन्द्रीय कार्यालयमा धर्ना, अनसन लगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी वाध्य हुने ब्यहोरा जानकारी गराउँछौं।’

यस्तो छ सभापतिहरूको अनुरोध

श्रीमान सभापति ज्यू
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
वीपी स्मृति भवन, वीपीनगर, ललितपुर ।
मिति: २०७८-०५-०५
विषय: माग संवोधनका लागि हार्दिक अनुरोध
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यताको पारदर्शिता सम्वन्धी बिषयलाई लिएर देसभरिका लाखौं सदस्य साथीहरुको भावनाको प्रतिनिधित्व गर्दै आरम्भदेखि नै हामीले नेतृत्व समक्ष प्रष्ट विचार राख्दै आएका हौं । वडा तहबाट निर्णय भइआएका नामहरु हटाउने, ठाडै केन्द्रबाट जथाभावि नामहरु थप्ने र झिक्ने तथा शतप्रतिशतभन्दा बढी नामहरु इन्ट्री गर्ने जस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दै रह्यौं। यस्ता अनियमिततालाई बेलैमा रोक्नु त कता हो कता, झन पछिल्ला दिनमा आएर सुनियोजित ढंगबाट अमूक ब्यक्तिको स्वार्थसिध्दी गर्न तथा लामो समयदेखि पार्टीमा रगत-पसीना भिजाएका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौ संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउने जस्ता अशोभनीय कामहरु भैरहेबाट हामी स्तब्ध भएका छौं। त्यसमाथि ७७ वटै जिल्लाका सभापतिको एउटै प्रकृयाबाट निर्वाचन हुने विधानको प्रष्ट ब्यवस्था विपरीत निर्वाचन निर्देशिका जारी भएबाट हामीलाई थप चिन्तित बनाएको छ।
तसर्थ,
१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस ।
२. क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानवीन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस ।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस ।
हाम्रो उपरोक्त मागहरुलाई संवोधन गर्नेगरी यही भाद्र ७ गते भित्र आवश्यक कदम नचालिएमा भोलिपल्ट (भाद्र ८ गते) बाट केन्द्रीय कार्यालयमा धर्ना, अनसन लगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी वाध्य हुने ब्यहोरा जानकारी गराउँछौं। जय नेपाल ।
विनीत
जिल्ला सभापति एवं साथीहरु

प्रकाशित मिति : August 22, 2021 at 10:39 am