मापसे सरकार मुर्दावाद भन्दै नुवाकोटमा एमालेका भ्रातृ संगठन सडकमा
२ भदौ, नुवाकोट । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले नुवाकोटका विभिन्न जनवर्गिय संगठनले बुधवार प्रदर्शन गरेका छन् । एमालेको निकट युवा संगठन युवा संघ, अनेरास्ववीयु, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले नेकपा एमालेको पार्टी कार्यालय विदुरदेखि विदुर चोकसम्म तथा विदुर चोकदेखि लोकतान्त्रिक चौतारोसम्म प्रदर्शन गरे ।
मुलुकलाई अस्थिरतातर्फ धकेल्न सरकारले जनघाती निर्णय गरेको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् । प्रर्दशनमा नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर जस्ता नारा लगाएर युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।
बिरोध प्रदर्शनमा नेकपा एमाले नुवाकोटका सचिव काशिराज अधिकारीको समेत उपस्थिति रहेको थियो । विरोधसभामा एमाले बागमती प्रदेशका सदस्य बलराम आचार्य लगायतले सम्बोधन गर्दै सरकारले लोकतन्त्र कमजोर बनाउनका लागि दल विभाजनको प्रावधन खुकुलो बनाएर अध्यादेश ल्याएको भन्दै घोर भत्सर्ना गरे । सरकारले अध्यादेश जारी गरेको दिननै एमाले र जसपा विभाजना भएको छ ।

प्रकाशित मिति : August 18, 2021 at 10:28 pm





