तीन दिनदेखि हराइरहेकी प्रियंकाको शव भेटियो, बलात्कार गरी हत्या गरिएको आशंका
२ भदौ, जनकपुरधाम। सर्लाहीमा तीन दिनदेखि हराइरहेकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १७, की प्रियंका भुजेलको शव मंगलबार राति भेटिएको प्रहरीले जनाएको छ ।
३१ साउनदेखि घरबाट हराइरहेकी भुजेलको शव घरदेखि करिब ३ किलोमिटरको दूरीमा रहेको कालिन्जोर खोलामा फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । शव सडेको अवस्थामा फेला परेको डीएसपी बुढाथोकीले बताए ।‘मृत भुजेलको शरीरमा त्यस्तो निलडाम र घाउ देखिएको छैन’ उनले भने, ‘शव केही सडेको देखिएको छ ।’
तर स्थानीयले भने बलात्कार गरी भुजेलको हत्या गरिएको आशंका गरेका छन् । किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने बुढाथोकीले बताए ।
प्रकाशित मिति : August 18, 2021 at 1:11 pm





